© 2026
‘मुटुको धडकनलाई वेवास्ता नगरौं’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस नेपालका साथै विश्वभर मनाईदैछ ।
विश्व हृदय रोग महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि विश्वभर यो दिवसले औपचारिक बैधानिकता पाएको हो । यो दिवस मनाउँदै गर्दा चिकित्सकहरूले चेतावनी दिएका छन ।
मुटु जोगाउनेतर्फ ध्यान नदिने हो भने नेपालले पनि यो रोगको महामारीबाट ठूलो क्षति बेहोर्नुपर्नेछ । मुटु रोगको जोखिम धेरै बढिरहेकोले सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै चिकित्सकहरूले बढ्दो शहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनमा ध्यान दिनुपर्ने खबरदारी गरेका छन् ।
तथ्याँकले पनि मुटुरोगको भयावह अवस्था स्पष्ट देखाएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे दुई करोड पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासंघका अनुसार मुटु रोगबाट विश्वभर बर्सेनि करिव एक करोड ८० लाखको ज्यान जाने गरेको छ ।
यस्तै, नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । यो भनेको मुटुको जोखिम अत्याधिक हो । नेपालमा पछिल्लोसमय २५ प्रतिशत नागरिकलाई कुनै न कुनैरूपमा मुटु रोग देखिएको छ । मुटु रोगीको संख्या नेपालमा १० वर्षयता ५ गुणाले बढेको छ । यदि यही रफ्तारमा मुटुको जोखिम बढिरहने हो भने कोही कसैको पनि जीवन सुरक्षित छैन भन्दा अन्यथा हुँदैन ।
अवको दिनमा मुटु रोगबाट बच्न र बचाउन बिलासी जीवनबाट टाढा रहनुपर्ने चिकित्सकहरूको सुझाव छ । मुटु रोग महामारी जस्तै बढिरहेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना अहिलेदेखि नै नलाग्ने हो भने भोलिको दिनमा ठूलो समस्या आईपर्ने छ । मुटुरोगको महामारीबाट जोगिनको लागि यो रोगबाट बच्ने र रोग लाग्नै नदिने मूख्य कुरा हो ।
त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउनुपर्ने जरुरी छ । अहिले कलिलो उमेरकै बालबालिका समेत मुटु, मानसिक रोग र क्यान्सर जस्ता रोगले थला पर्न थालेका छन् । मुटु रोगको मूख्य एक कारणमा २५ प्रतिशत वायु प्रदूषणलाई कारण मानिएको छ ।
तसर्थ अव हरेक नागरिकलाई बचाउने हो भने प्रकृतिलाई विनाश होइन, माया गर्नुपर्छ । अरूको मुटु बचाउने हो भने सर्वप्रथम आफ्नो मुटुमा ध्यान दिन जरुरी छ । हामीले आफ्नो मुटु स्वस्थ राख्न सके अरूको मुटु जोगाउन पनि सक्षम हुनेछौं । त्यसका लागि पहिले आफ्नो स्वास्थ्य अवस्थाबारे जान्नु आवश्यक छ ।
आफ्नो तौल ठिक छ छैन, मधुमेह, रक्तचाप, कोलेस्टेरोल आदिका विषयमा पूर्व जानकारी राख्नुपनि मुटु रोगबाट बच्ने मूख्य माध्यम हो । त्यसका अतिरिक्त अनावश्यक तनाव, धुमपान, मद्यपान, बजारिया पत्रु खाना पूरै बर्जित गर्ने हो भने अवश्य रोगबाट बच्न सकिन्छ । मुटु रोग लाग्ने कारक तत्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन् ।
मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम र ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव, खानामा नुन र चिनीको मात्रा बढी, अनिद्रा इत्यादि पर्दछन् । यी कारक तत्वलाई ठीक ठाउँमा राख्न सके मुटुरोगबाट बच्न सकिन्छ । जुन कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । तसर्थ वर्षको एकपटक आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौं ।
आफ्नो मुटु स्वस्थ राखौं र आफूले जानेजति, मनैदेखि अरूको पनि मुटु बचाउने अभियानमा लागौं ।