© 2026
गुल्मी । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अझै सुचारु हुन सेकेका छैनन् ।
जिल्लाको कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खसेपछि पाँच दिनदेखि अवरुद्ध छ । उक्त करिडोरको गुल्मी खण्डका विभिन्न स्थानमा पहिरो गएको र सडक भासिएकोले यातायात सञ्चालनमा कठिनाइ भएको छ ।
अवरुद्ध सडक खुलाउनका लागि उक्त क्षेत्रमा स्काभेटर परिचालन गरिएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भिमकिरण बोगटीले जानकारी दिएका छन् । त्यसैगरी रुद्रवेणी–वामीटक्सार सडकखण्ड पनि गत चार दिनदेखि अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीरमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
वर्षा रोकिएपछि यातायात सञ्चालन गर्नका लागि स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीको सहयोगमा डोजर र एक्साभेटर प्रयोग गरि सडकमा थुप्रिएको पहिरो हटाउने काम भैरहेको बताईएको छ । त्यसैगरी जिल्लाको इन्द्रेगौँडा‐रातडाँडा‐तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध बनेको छ ।
उक्त सडकखण्ड अन्तर्गत मुसिकोट नगरपालिका‐३ स्थित ताउखोलामा सडक माथिबाट पहिरो खसेपछि आईतबारदेखि सडक पूर्णरूपमा अवरुद्ध बनेको हो । बर्षाका कारण जिल्लाका अधिकाँस ग्रामिण सडकहरू अवरुद्ध हुँदा यातायात सेवा प्रवावित बनेका छन् ।
जिल्लाका मुख्य तथा ग्रामीण सडक अवरुद्ध हुँदा चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावत, दैनिक प्रशासनिक काम तथा खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको बताईएको छ ।
स्थानीय पालिकाहरूले पनि अवरुद्ध सडक सुचारु गर्न शुरु गरिसकेका छन् । मंगलबारसम्ममा जिल्लाका अधिकाँस अवरुद्ध सडकहरू सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले भारी वर्षा र बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै शुक्रबारदेखि जिल्लाभर सञ्चालनमा रोक लागाएको सवारी आवागमन समेत सोमबारदेखि खुला गरेको जनाएको छ ।