Butwal Today

असोज २२ र २३ मा सातै प्रदेशका मुख्यमन्त्री सम्मेलन

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

विराटनगर । संघीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुने भएको छ। कोसी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते विराटनगरमा सम्मेलन आयोजना गर्न लागिएको हो। प्रदेशहरूका साझा समस्या पहिचान गरी संघीय संरचनालाई थप प्रभावकारी र सुदृढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

सम्मेलनमा अन्तरप्रदेश व्यापार, उत्पादनको आदानप्रदान, प्राकृतिक स्रोतको संयुक्त उपयोग, पर्यटन प्रवर्द्धन तथा अन्तरप्रदेश हवाई सम्पर्क लगायतका विषयमा छलफल हुने जनाइएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार सम्मेलनमा संघीयता अभ्यासका चुनौती, प्रदेशहरूले हासिल गरेका असल अभ्यास तथा अनुभव आदानप्रदान गरिनेछ। साथै, प्रदेशहरूबीच सहकार्यका लागि ठोस समझदारी बनाउने प्रयास गरिनेछ।

कोसी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाको अध्यक्षतामा गठित नीतिगत सिफारिस समितिले सम्मेलनका लागि कार्यपत्र, छलफलका विषय र साझा घोषणापत्रको मस्यौदा तयार गरिरहेको छ। निरौलाका अनुसार सम्मेलनका लागि प्राकृतिक स्रोत–साधनको संयुक्त उपयोग, अन्तरप्रदेश हवाई सञ्जाल, पर्यटन र उत्पादन आदानप्रदानलगायत १३ वटा प्रमुख एजेन्डा तय गरिएका छन्। नीतिगत एजेन्डालाई अन्तिम रूप दिन असोज १४ गते सातै प्रदेशका योजना आयोगका उपाध्यक्षहरूको बैठक बस्ने तय भएको छ।

सम्मेलनमा प्रदेशहरूबीचका असल अभ्यास, संघीय तथा स्थानीय सरकारसँग आवश्यक नीतिगत र कानुनी समन्वयका विषयमा पनि छलफल हुनेछ। सम्मेलनलाई एकपटकको कार्यक्रममा सीमित नराखी प्रदेशहरूबीच नियमित छलफल, नीति निर्माण र साझा समस्या समाधानका लागि स्थायी फोरमका रूपमा संस्थागत गर्ने तयारीसमेत भइरहेको छ। सम्मेलनमा सहभागी मुख्यमन्त्री तथा विशिष्ट पाहुनालाई विराटनगर आसपासका पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?