© 2026
बुटवल । सुन्दरनगर खानेपानी तथा सरसफाइ संस्था, बुटवल–६ को हालै सम्पन्न अधिवेशनबाट शंकर परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्षबाहेक अन्य पदमा सहमतिमै निर्विरोध चयन भए पनि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको थियो। निर्वाचनमा शंकर परियारले २ सय ३२ मत प्राप्त गरी विजयी भए भने उनकी प्रतिस्पर्धी रिमकुमारी श्रेष्ठले १ सय ६२ मत प्राप्त गरिन्। निर्वाचन समितिका संयोजक बलराम न्यौपानेले निर्वाचनको परिणाम सार्वजनिक गरेका थिए।
नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश खनाल, सचिवमा शंकर काफ्ले, कोषाध्यक्षमा थर्कराज खडाल र सहसचिवमा विजया पुन मगर चयन भएका छन्। त्यस्तै सदस्यहरूमा राजकुमार गुप्ता, भुजमो नजीर हुसेन, राजु शाही, देवी विश्वकर्मा, कमला श्रेष्ठ, सञ्जय बीसी र सीता जोशी चयन भएका छन्। लेखा समिति संयोजकमा ध्रुवराज खनाल तथा सदस्यमा गिरीराज भुसाल निर्विरोध चयन भएका छन्। निर्वाचित अध्यक्ष शंकर परियारले निर्वाचनमा हार–जित स्वाभाविक भए पनि अब सबै मिलेर संस्थाको हितमा काम गर्नुपर्ने बताए। उनले उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो नेतृत्वको टिम प्रतिबद्ध रहेको बताए।
संस्थापक अध्यक्ष वीरमान लामाले ठूलो दुःख र कष्टका साथ संस्था स्थापना गरिएको स्मरण गर्दै खानेपानीको समस्या समाधानका लागि संस्थाले स्थानीय टोल तथा आसपासका बस्तीमा समेत शुद्ध खानेपानी पुर्याउन सफल भएको बताए। उनले नयाँ समितिले संस्थाले हासिल गरेका उपलब्धिलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै संस्थालाई आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहेको बताए। कार्यक्रममा बुटवल उपमहानगरपालिका–६ का कार्यवाहक वडा अध्यक्ष चिन्ने श्रेष्ठ, सल्लाहकार विश्वास ढकाल, सचिव शंकर काफ्लेलगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।