© 2026
काठमान्डौँ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना कारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् ।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको भए त्यो सरकारकै लागि घातक हुने बताएका हुन् ।
‘तथ्य विस्तारै आउँछ । सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ प्रचण्डले भने । उनले यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रहसमेत गरे ।
सुरक्षा थ्रेटको कारण देखाएर पक्राउ गरिएको विषय सामान्य मानिसले समेत बुझ्ने खालको बहानाबाजी भएको उनको भनाइ थियो । यदि साँच्चै सुरक्षा थ्रेट भएको भए पक्राउ गर्नुको साटो सम्बन्धित व्यक्तिको घरमै सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने तर्क प्रचण्डले गरे ।
‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ, बहानाबाजी हो भन्ने । सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्यो नि,’ उनले भने ।
त्यस्तै, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले बोल्नुपर्ने विषयमा नै धारणा राखेको प्रचण्डले प्रतिक्रिया दिए । यस विषयलाई लिएर अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री बालेनको स्थानमा अरू कोही भएको भए पनि त्यही विषयमा बोल्ने प्रचण्डले धारणा राखे ।