© 2026
गुल्मी ।
गुल्मीमा बाढीले बगाएर बेपत्ता भएकी एक महिलाको खोजीका लागि सदरमुकाम तम्घासबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ । रेसुङ्गा नगरपालिका–१४ की ५६ वर्षीय तुलसी सूर्यवंशी आइतबार बिहान श्रीमानसँग स्थानीय खोला खेत भन्ने स्थानमा माछा मार्ने क्रममा अचानक छल्दी पनाहा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बाढीपछि स्थानीयवासी र प्रहरीले खोजी गरे पनि फेला पार्न नसकेपछि सोमबार बिहान थप सुरक्षाकर्मी घटनास्थलतर्फ परिचालन गरिएको प्रहरी उपरीक्षक भीमबहादुर बोेगटीले बताएका छन् । खोजीका लागि रामबाण गुल्मीबाट उपसेनानी दिलबहादुर शाहीको नेतृत्वमा १० जना, सशस्त्र प्रहरी बल नेपाल नं. ३७ गुल्मबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र गडरियाको नेतृत्वमा ११ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा १० जनाको संयुक्त टोली परिचालन गरिएको छ ।
ठूलो बाढीका कारण आइतबार खोजीमा कठिनाइ भए पनि सोमबार पानीको बहाव केही घटेपछि खोजी कार्यलाई पुनः तीव्रता दिइएको प्रहरीले जनाएको छ । स्थानीयवासी सहितको टोलीले खोला आसपास तथा सम्भावित स्थानमा खोजी जारी राखेको छ ।