Butwal Today

अविरल वर्षाका कारण मनाङमा पुगेको क्षतिप्रति सरकारको ध्यानाकर्षण

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अविरल वर्षाका कारण मनाङ जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै गुरुङले मनाङको भौगोलिक विकटता तथा बाढी–पहिरोले निम्त्याएको मानवीय र भौतिक क्षतिबारे जानकारी गराएका हुन् ।

सांसद गुरुङका अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाले मनाङको जनजीवन अस्तव्यस्त बनेको छ । मनाङको सदरमुकाम चामे क्षेत्रमा आधा दर्जनभन्दा बढी घर बाढीले बगाएको उनले बताए। मर्स्याङ्दी नदीको बहाव बढेपछि मनाङ जोड्ने मुख्य राजमार्ग र मोटरेबल पुलसमेत डुबानमा परेका छन् ।

‘मर्स्याङ्दी नदी थुनिएर मनाङ जाने बाटो अवरुद्ध भएको छ । तातोपानी आसपासका घरहरू डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ,’ सांसद गुरुङले भने ।

उनका अनुसार नासोङ गाउँपालिकामा डेढ दर्जनभन्दा बढी घरमा मर्स्याङ्दी नदीले क्षति पुर्‍याएको छ । दर्जनौँ पुल–पुलेसा बगाउँदा जिल्लाको आवतजावतसमेत ठप्प भएको उनले बताए ।

गुरुङले जिल्लामा सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार तथा राहतका काममा कठिनाइ भइरहेको बताए । ‘निसाङ र नार्पाभूमि गाउँपालिकामा विद्युत् र टेलिफोन सेवा सुचारु हुन नसक्दा त्यहाँका जनतासँग सम्पर्क विच्छेद भएको छ,’ उनले भने ।

हिमाल आरोहणको तयारीमा रहेका तथा हिमालबाट फर्किएका २७ जना नेपाली पर्यटकमध्ये दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको उनले बताए । उनका अनुसार ११ जना सम्पर्कमा आएका छन् भने १४ जना अझै सम्पर्कविहीन छन् ।

सडक तथा पदमार्ग अवरुद्ध हुँदा आन्तरिक र बाह्य पर्यटकहरू मनाङका विभिन्न स्थानमा अलपत्र परेको गुरुङले बताए । ‘बाटोघाटो र पुल–पुलेसा बिग्रेकाले सयौँ पर्यटकहरू अलपत्र छन् । यसले मनाङको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?