© 2026
काठमान्डौँ ।
नेकपा एमालेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीलाई सरकारको ‘राज्य आतङ्क र बर्बरताको नमुना’ भएको बताएको छ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाएका हुन् ।
असोज १० गते राति पूर्वप्रधानन्यायाधीश जबरालाई घरबाटै पक्राउ गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै महरले भने, ‘सरकारले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित र प्रतिष्ठित व्यक्तिलाई मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर राज्य आतङ्क र बर्बरताको नमुना प्रस्तुत गरेको छ । यो राज्य र विधिको शासनको चरम उल्लङ्घन हो ।’
सरकार गठन भएको केही समयमै विभिन्न पूर्वपदाधिकारीलाई पक्राउ गर्ने शैलीले सरकारको नियतमाथि प्रश्न उठाएको महरले बताए । उनले भने, ‘सरकार बनेकै दिनदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा डाका शैलीमा पक्राउ गर्ने, घरमै गएर धरपकड गर्ने काम भइरहेको छ । यसले सरकारको लोकतान्त्रिक चरित्र होइन, निरङ्कुशता र स्वेच्छाचारिताको नमुना देखाउँछ ।’
प्रमुख सचेतक महरले जेन्जी पुस्ताको काँधमा टेकेर सरकारले आफ्ना गैरकानुनी क्रियाकलापलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाए । ‘जोसुकै व्यक्तिले कानुन मिचेको छ भने उसलाई कानुनको दायरामा ल्याउनुपर्छ, यसमा कसैको विमति छैन । तर, तथ्य र प्रमाणबिना, प्रतिशोधका आधारमा पूर्वाग्रही भएर गरिने पक्राउले कानुनको शासनलाई नै गिज्याउँछ,’ उनले भने ।
सरकारले नागरिकको मान–मर्यादा, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको बर्खिलाप गरिरहेको महरले आरोप लगाए । यस्तो शैलीले लोकतन्त्रलाई बलियो नबनाउने उनको भनाइ थियो ।
‘मान्छेलाई तर्साउने, धम्क्याउने, मध्यरातमा पक्राउ गरेर हुर्मत लिने काम अहिलेको सरकारको मुख्य शैली बनेको छ । यो विधिको शासन हो कि जसको शक्ति उसैको भक्ति भन्ने शैलीको निरङ्कुशता रु’ उनले प्रश्न गरे ।
एमालेका प्रमुख सचेतक महरले कानुनभन्दा माथि कोही नभए पनि कानुन कार्यान्वयन गर्दा सरकारले अपनाएको प्रक्रियाले लोकतान्त्रिक संस्कारलाई भत्काइरहेको दाबी गरे ।