Butwal Today

बाढीपहिरोले कालीगण्डकी करिडोरका जलविद्युत् आयोजना प्रभावित

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बुटवल ।  निरन्तरको वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गतको विद्युत् प्रसारण संरचनामा क्षति पु¥याउँदा दर्जनौँ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रवाह प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनको दाना–कुश्मा खण्डमा बाढीपहिरोले क्षति पु¥याएपछि त्यसमा जोडिएका जलविद्युत् आयोजनाबाट विद्युत् प्रवाह हुन सकेको छैन । करिडोरअन्तर्गतका आयोजनाबाट उत्पादन हुने करिब ३५८ मेगावाट विद्युत् प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सबस्टेसनबाट पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म करिब १४० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा छ । उक्त प्रसारणलाइनबाट करिब १२०० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने क्षमता छ ।

प्राधिकरणका अनुसार दाना–कुश्मा खण्डको टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । बाढीपहिरोका कारण कुश्मा–नयाँबुटवल खण्डको प्रसारणलाइनमा समेत समस्या आएको छ । यसबाट करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

दाना–कुश्मा खण्डअन्तर्गत ४२ मेगावाटको मिस्त्री खोला, १४.८ मेगावाटको घरखोला, १३.६ मेगावाटको थापाखोला, ६.६ मेगावाटको रेलेखोला र पाँच मेगावाटको घलेम्दी जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भएको छ । घरखोला जलविद्युत् आयोजनाको उत्पादन साउन २७ गतेदेखि नै पहिरोका कारण बन्द रहेको जनाइएको छ ।

यसैगरी ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको राहुघाट मंगले, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला, २१.३ मेगावाटको ठूलोखोला र केही दिनअघि मात्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत प्रभावित भएको छ ।

प्राधिकरणका अनुसार ३८ मेगावाटको निलगिरी–१ र ७१ मेगावाटको निलगिरी–२ को उत्पादन पनि बन्द भएको छ । कालीगण्डकी करिडोरमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न निर्माण गरिएको यो प्रसारणलाइनमा आएको अवरोधले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको विद्युत् व्यवस्थापनमा समेत असर परेको छ ।

बाढीपहिरोको प्रभाव कालीगण्डकी करिडोरमा मात्र सीमित छैन । बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको मस्र्याङ्दीलगायतका जलविद्युत् आयोजनाको उत्पादनसमेत प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ । क्षतिग्रस्त संरचनाका कारण विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए ।

प्राधिकरणले प्रसारण तथा वितरण संरचनामा भएको क्षतिको मूल्याङ्कन गरी सम्भव भएसम्म छिटो विद्युत् आपूर्ति नियमित गर्ने प्रयास भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?