© 2026
कुनैपनि रोगलाई सानो ठान्दा त्यसले दर्दनाक अवस्था निम्त्याउने गरेको प्रशस्तै उदाहरण छन् । सामान्य अवस्थामा आउने ज्वरोमात्रै होइन, घाउ खटिराले पनि खुट्टै काट्नु परेको अवस्था छ ।
जसका कारण पैसामात्रै होइन, जीवन नै बर्बाद गरेको घटना हाम्रो समाजमा अनेकौं दृष्टान्त छन् । तसर्थ रोगलाई कम आँक्नु आफैलाई गंभीर खाडलमा धकेल्नु हो । प्रसंग विश्व रेबिज विरुद्धको दिवसको हो । रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जसले जनावरहरूको शरीरमा प्रवेश गरेपछि रेबिज गराउँदछ र जनावरले मानिसलाई टोकेमा मानिसको मृत्यु हुन सक्छ । तसर्थ रेबिजबाट बच्नेतर्फ सवैले ध्यान दिनु जरुरी छ ।
रेबिजलाई सामान्य ठान्दा ठूलो दुर्घटना निम्तिएको अवस्था छ । मेडिकलको भाषामा रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मानिस आएमा रेबिज लाग्छ । रेविज लागेको अर्थात् रेविड जनावरहरूको ¥यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई चुनौती दिएको छ ।
अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरू प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेपछि पनि औषधीको मात्रा पूरा गरेर, सुई लगाएर रेबिजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।
तसर्थ भरसक रेबिजबाट बच्ने र रेबिज लागेको अवस्थामा उपचारमा लापरवाही नगरे जीवन सुरक्षित हुन्छ । रेबिजबाट बच्न हाम्रो घर वरिपरी रहेका जनावरलाई अनिवार्य खोपको व्यवस्था गर्नु जरुरी छ । घर घरमा पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाउनु पनि खोपबाट बच्ने सावधानी र उपाय हो ।
संक्रमित जनावरहरूसंग उनीहरूको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु आवश्यक छ । त्यसतर्फको पूर्व सावधानी पनि रेबिजबाट बच्ने उपाय हो । रेबिजको संक्रमणको जोखिममा हामी जो कोहीपनि पर्न सक्छौं । तसर्थ यो विषयमा पूर्व सचेतना अत्यावश्यक छ ।
नेपालमा हरेक बर्ष सेप्टेम्वर २२ देखि २८ गतेसम्म रेबिज सप्ताह बिभिन्न कार्यक्रम गरि मनाउने गरिएको छ । यो बर्ष पनि नेपालमा रेबिजविरुद्धको अभियान सुरु भएको छ । अभियान सुरु गर्दैगर्दा यो अभियानमा सवै नागरिक जोडिनु अत्यावश्यक छ ।
सवैभन्दा पहिले रेबिज रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा दूरदराजमा बस्ने नेपाली नागरिकलाई धेरै कुराको जानकारी दिनु जरुरी छ । पशुबाट मानिसमा सर्ने धेरै रोगहरूमध्ये सबैभन्दा डरलाग्दो प्राणघातक रोग नै रेबिज हो भन्ने कुरा अहिलेपनि धेरैलाई थाहा नहुन सक्छ । तसर्थ रेबिजविरुद्धको सचेतना कार्यक्रममा सवै जोडिनु जरुरी छ ।
यो रोगबाट बच्नेतर्फ समयमै ध्यान नदिने हो भने ठूलो जोखिम हुने भएकोले अहिलेदेखि नै सतर्कता आवश्यक छ । रेबिज लागेर लक्षण देखिएपछि यसको कुनै उपचार छैन भन्ने कुरा सवैलाई बुझाउनु जरुरी छ । विश्वमा बर्षेनि करिब ३० हजारदेखि ५५ हजार ब्यक्तिको यो रोगका कारण मृत्यु हुने गरेको तथ्याँक रहेकोले रेबिजबाट हरेक नागरिक आफै सचेत हुनुपर्ने आवश्यकता छ ।
रेविजको बढ्दो चुनौतिबाट बच्न अहिले नेपाल सरकारले हरेक पालिकाबाटै रेबिज नियन्त्रणका लागि पहल गरिरहेको छ । बुटवल उपमहानगरले समेत रेबिजको जोखिम रहेको कुकुर, बाँदर लगायतका जनावरबाट बच्न सतर्कताका कार्यक्रमदेखि रेबिज नियन्त्रणका कार्यक्रम गर्दै आएको छ ।
कुकुरलाई भ्याक्सिनेसन गर्नेतर्फ ध्यान दिने हो भने रेबिजको जोखिम धेरै कम हुन्छ । रेबिज नियन्त्रण अभियान खोप संचालन गर्नेतर्फ ढिलाई गरिनुहुँदैन ।
कुकुरको संख्या नियन्त्रण गर्न प्रजनन अभियानमा रूपन्देहीका पालिकाहरूले जोड दिदै आएका छन् । भोलिको दिनमा पनि यो अभियानलाई सवै पालिकाले निरन्तरता दिनु जरुरी छ ।