© 2026
भैरहवा ।
सिद्धार्थनगर सिटी अस्पतालमा आइतबारदेखि आमा सुरक्षा कार्यक्रम सुरु गरिएको छ । अस्पतालका अनुसार नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थाबाट समेत सुरक्षित तथा गुणस्तरीय मातृ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमअन्तर्गत गर्भवतीले कम्तीमा चार पटक गर्भ जाँच गराएबापत प्रोत्साहन रकम प्राप्त गर्ने तथा सामान्य प्रसूति, जटिल प्रसूति र सिजेरियनलगायतका सेवा निःशुल्क उपलब्ध हुने अस्पतालले जनाएको छ । सेवाग्राहीलाई यातायात खर्चसमेत उपलब्ध गराइनेछ भने सरकारले सम्बन्धित अस्पताललाई सेवाबापतको लागत उपलब्ध गराउने व्यवस्था रहेको अस्पताल प्रशासनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेलले आमा सुरक्षा कार्यक्रम राज्यको प्राथमिकतामा रहेको उल्लेख गर्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी संवैधानिक हक सुनिश्चित गर्न कार्यक्रम महत्वपूर्ण रहेको बताइन् ।
उनले नेपालले विगतमा सहस्राब्दी विकास लक्ष्य (एमडीजी) अन्तर्गत मातृ तथा शिशु मृत्युदर घटाउन उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै पछिल्लो राष्ट्रिय तथ्याङ्कअनुसार प्रति एक लाख जीवित जन्ममा १५१ आमाको मृत्यु हुने गरेको बताइन् । लुम्बिनी प्रदेशमा भने मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा बढी, प्रति एक लाख जीवित जन्ममा २०७ रहेको उनले उल्लेख गरिन् ।
सरकारी अस्पतालमा सेवाग्राहीको चाप बढी हुने तथा प्रेषण प्रणालीमा देखिने झन्झटलाई कम गर्न निजी स्वास्थ्य संस्थासँगको सहकार्यमा पनि आमा सुरक्षा कार्यक्रम विस्तार गरिएको पौडेलले बताइन् । उनका अनुसार सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार सिटी अस्पतालबाट कार्यक्रम सञ्चालनमा आउनु सेवाग्राहीका लागि महत्वपूर्ण अवसर हो ।
सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु हुनु सेवाग्राहीका लागि स्वागतयोग्य भएको बताए । उनका अनुसार अब अस्पतालबाट सामान्य प्रसूति, जटिल प्रसूति तथा सिजेरियनलगायतका सेवा कार्यक्रमअन्तर्गत निःशुल्क उपलब्ध हुनेछन् ।
पौडेलका अनुसार सुत्केरी आमालाई यातायात खर्चबापत रु. १ हजार तथा कम्तीमा चार पटक एएनसी (गर्भ जाँच) गराएबापत रु. ८ सय प्रोत्साहन रकम उपलब्ध हुनेछ।
निजी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा सफा तथा सुरक्षित वातावरण, दक्ष स्वास्थ्यकर्मी र चिकित्सकबाट छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने अस्पतालको प्रतिबद्धता रहेको उनले बताए ।
पौडेलले अस्पतालजन्य संक्रमणको जोखिमप्रति समेत सचेत रहनुपर्नेमा जोड दिए। भीडभाडयुक्त अस्पतालमा उपचारका क्रममा संक्रमणको जोखिम बढ्न सक्ने भएकाले अस्पतालको सरसफाइ तथा संक्रमण रोकथामलाई विशेष प्राथमिकता दिइने उनले बताए ।
कार्यक्रममा मातृ मृत्युमध्ये ठूलो हिस्सा सुत्केरीपछि हुने अत्यधिक रक्तस्राव (पीपीएच) का कारण हुने भएकाले त्यसको रोकथाम तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो । साथै, आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सेवा तथा लागतसम्बन्धी पुराना दरलाई समयानुकूल पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।