Butwal Today

अविरल वर्षाले बर्दियामा पाँच घरमा क्षति, एक बङ्गुरको मृत्यु

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

बर्दिया ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण बर्दियाका विभिन्न स्थानीय तहका बस्तीमा क्षति पुगेको छ ।

वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा कच्ची घरमा पानी पस्नुका साथै घरका पर्खाल भत्किएका छन् । एक स्थानमा घरको पर्खाल भत्किँदा बङ्गुरको खोर च्यापिएर एउटा बङ्गुर समेत मरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०८३ साल असोज ९ र १० गते परेको वर्षाका कारण जिल्लाका विभिन्न पालिकाका बस्तीमा क्षति पुगेको हो । क्षतिको जानकारी प्राप्त हुनासाथ सम्बन्धित क्षेत्रमा प्रहरी टोली परिचालन गरी स्थानीय तहसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुलरिया नगरपालिका–१ छेदापुर चोकमा माटोले बनेका टायलले छाएका पाँच वटा घरमा करिब एक फिटसम्म पानी पसेको थियो । घरभित्र पानी पसेपछि स्थानीयलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष तथा वडा सदस्यसँग समन्वय गरी स्थानीय श्री स्वामी प्रमानन्द प्राथमिक विद्यालय, छेदापुरको हल कोठामा प्रभावित परिवारलाई बस्ने व्यवस्था मिलाइएको थियो ।

यस्तै, बाँसगढी नगरपालिका–८ रेशम टोलका जलबहादुर चौधरीको चार कोठे कच्ची घरको दक्षिणतर्फको पर्खाल अविरल वर्षाका कारण गलेर भत्किएको छ । घरको पर्खाल भत्किँदा छेउमा जोडिएर रहेको बङ्गुर को खोरसमेत च्यापिएको थियो । खोरमा रहेको करिब ७० देखि ८० किलोको एउटा बङ्गुर मरेको प्रहरीले जनाएको छ ।
बढैयाताल गाउँपालिका–१ दैलेखी टोलमा गोमा विकको एक तले कच्ची घरमा पानी पसेको छ । लगातार वर्षाका कारण घरभित्र पानी पसेपछि परिवार प्रभावित भएको प्रहरीले जनाएको छ । त्यस्तै, मधुवन नगरपालिका–५ गाउँ नम्बर ८ मा खिरबहादुर गुरुङको जस्ताले छाएको चार कोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको पर्खाल भत्किएको छ । इँटा र माटोले बनेको पर्खाल लगातारको वर्षाका कारण कमजोर भई भत्किएको प्रहरीले जनाएको छ ।

बारबर्दिया नगरपालिका–९ खैरेनीमा समेत वर्षाका कारण दुई कोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको पर्खाल भत्किएको छ । उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य क्षेत्रमा भने अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । क्षति भएका स्थानमा प्रहरी टोलीले स्थलगत निरीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थाका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरिरहेको छ । लगातारको वर्षाका कारण कच्ची घर तथा कमजोर संरचना भएका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

विशेष गरी पानी जम्ने तथा घरका पर्खाल कमजोर भएका क्षेत्रमा सुरक्षित स्थानमा बस्न र जोखिम देखिए तत्काल प्रहरी तथा स्थानीय तहलाई जानकारी गराउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?