© 2026
पर्वत ।
पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय सुरक्षित स्थानतर्फ गएको प्रहरीले जनाएको छ। मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन ।
बाढीका कारण अन्य घरसमेत उच्च जोखिममा रहेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दा तथा उनीहरूका जिन्सी सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बाढीका कारण विद्युत् तथा फोन सम्पर्कमा समेत समस्या भएको छ ।