© 2026
जोहानेसबर्ग ।
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन् ।
प्रहरीका अनुसार करिब आठ जना बन्दुकधारीले आक्रमण गरेका थिए । उनीहरूले बारमा रहेका केही ग्राहकको तलासी लिएर मोबाइल फोनसमेत लगेपछि दुईवटा पहिचान नखुलेका सवारीसाधनमा फरार भएका थिए । घटना स्थानीय समयअनुसार शनिबार राति करिब ७ः३० बजे भएको बताइएको छ ।
प्रहरीले आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट नभएको जनाएको छ। फरार हुनुअघि संदिग्धहरूले दुईवटा सवारीसाधनमा आगजनी गरेको प्रहरीले बताएको छ । घटनामा संलग्नहरूलाई पक्राउ गर्न अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको छ ।
यसैबीच, केप टाउनबाहिरको एक टाउनसिपस्थित मनोरञ्जनस्थलमा आइतबार बिहान भएको अर्को गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
दक्षिण अफ्रिकामा कानुनी तथा अवैध दुवै प्रकारका हतियारको व्यापक प्रयोग हुने गरेको छ । त्यहाँ गिरोहबीचको विवाद तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण गोलीकाण्डका घटना हुने गरेका छन् ।
करिब ६ करोड २० लाख जनसंख्या रहेको दक्षिण अफ्रिकामा विश्वकै उच्च हत्या दरमध्ये एक रहेको छ । देशमा दैनिक औसत करिब ६० जनाको हत्या हुने गरेको तथ्यांक उद्धृत गरिएको छ । यसै वर्षको मार्चमा जोहान्सबर्गका हिंसाग्रस्त क्षेत्रमा अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको थियो । राष्ट्रपति सिरिल रामाफोसाले बढ्दो अपराधलाई देशका प्रमुख चुनौतीमध्ये एकका रूपमा वर्णन गरेका छन् ।