Butwal Today

प्रवासी नेपालीका समस्या र सरोकारप्रति सरकार बेखबर छैन :  सञ्चारमन्त्री तिमिल्सिना

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-
दोहा, कतार । 
नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विदेशमा रहेका नेपालीका समस्या, पीडा र अपेक्षाबारे सरकार जानकार रहेको बताएका छन्।
कतारको दोहामा आयोजित अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को महासम्मेलन (PP-26) मा नेपालबाट प्रतिनिधिमण्डलको नेतृत्वमा  कतार आएका मन्त्री तिमिल्सिनाले
प्रवासी नेपाली सम्पर्क विभाग कतारको आयोजनामा बुधबार दोहास्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा आयोजित”स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रवासमा रहेका  नेपालीहरुले उठाएका प्रश्न र माग स्वाभाविक रहेको उल्लेख गर्दै त्यसको जवाफ दिनु सरकारको जिम्मेवारी भएको बताएका हुन्।
तिमिल्सिनाले आफू पनि करिब आठ–नौ वर्ष विदेशमा बसेर संघर्ष गरेको अनुभव सुनाउँदै विदेशमा रहेर जीवनयापन गर्दाको दुःख र देशप्रतिको मायालाई नजिकबाट बुझेको बताए। ‘तपाईंहरूले उठाउनुभएका मुद्दाबारे म पनि बेखबर छैन र सरकार पनि बेखबर छैन,’ उनले भने, ‘तपाईंहरूका प्रश्न स्वाभाविक छन्। पार्टी र सरकारप्रतिको अपेक्षाका कारण प्रश्न उठाउनु तपाईंहरूको अधिकार हो भने त्यसको जवाफ दिनु हाम्रो जिम्मेवारी हो।’उनले भने ।
विदेशमा राम्रो आम्दानी र सुविधा भए पनि अधिकांश नेपालीको चाहना अन्ततः आफ्नै देश फर्किने र परिवारसँगै जीवन बिताउने रहेको बताए। कतार, खाडी मुलुकदेखि अमेरिका, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डसम्म पुगेका नेपालीमा स्वदेश फर्किने चाहना रहेको उनको भनाइ थियो।
अन्तरक्रिया कार्यक्रममा बिभाग  अन्तर्गतका विभिन्न समिति तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले कतारमा रहेका नेपाली श्रमिकका समस्या, प्रवासी नेपालीका सरोकार, सरकारको कार्यशैली तथा स्वदेश फर्किने वातावरण निर्माणलगायत विषयमा मन्त्रीसमक्ष प्रश्न तथा जिज्ञासा् समेत राखेका थिए। सहभागीका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले विदेशमा रहेका नेपालीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनले प्रवासमा रहेका नेपालीको देशप्रतिको माया र स्वदेशमा केही राम्रो होस् भन्ने चाहना स्वाभाविक रहेको बताए।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालजस्ता विकासोन्मुख तथा अल्पविकसित मुलुकका मुद्दा उठाउन नेपाली प्रतिनिधिमण्डलले भूमिका खेलेको जानकारी दिँदै कतारमा रहेका नेपाली समुदायसँगको भेटघाटलाई पनि महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए।
प्रवासी नेपाली सम्पर्क विभागका कार्यवाहक सभापति सुजन ढकालले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कतारमा रहेका नेपालीहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनले प्रवासमा श्रम गरिरहेका नेपालीका समस्या, गुनासा र सरोकारका विषयलाई सरकारले सकारात्मक रूपमा लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?