Butwal Today

सल्यानमा खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार पुरस्कार

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

सल्यान ।

सल्यानमा यही कार्तिक ३० गतेदेखि खुला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । यस अघि कार्तिक १८ गतेदेखि सञ्चालन गर्ने गरी तय गरिएको प्रतियोगिता मिति परिवर्तन गरेर कार्तिक ३० गतेदेखि सञ्चालन गर्न लागिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी सल्यानको आयोजनामा कपुरकोट गाउँपालिका, ४ स्थित घंघारीचौर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

‘युवाको एकता खेलकुदमा शान, समृद्ध समाज युवा संघ सल्यानको अभियान’ भन्ने मूल नारा सहित आयोजना हुने प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने संघका जिल्ला अध्यक्ष प्रेम घर्तीले जानकारी दिए ।

युवामा एकता, अनुशासन र सदाचारको भावना विकास गर्नुका साथै खेलकुद मार्फत युवालाई रचनात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले जनाए ।

जिल्लाका विभिन्न स्थानमा वडा स्तरीय खेलकुद प्रतियोगिता सहित दसैं, तिहारको बीचमा जिल्लाभर विभिन्न कार्यक्रम आयोजना हुँदा भलिबल टिमहरूको उल्लेख्य सहभागिता हुन नसक्ने अवस्था देखिएपछि प्रतियोगिताको मिति सारिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कार्तिक ३० गते बिहान ११ बजेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ । टिम दर्ताका लागि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

आयोजकले जिल्लाभित्र तथा बाहिरका खेलाडी समूहलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । साथै प्रतियोगिता अवलोकन गर्न खेलप्रेमी, स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई समेत उपस्थितिका लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?