Butwal Today

हावाहुरी र वर्षाले बढायो जोखिम : सल्यानका सबै सडक बन्द, शुक्रवारदेखि छैन  विद्युत्

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

सल्यान ।

सल्यानमा लगातारको वर्षा र हावाहुरीका कारण सडक तथा विद्युत् संरचनामा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका सडकमा रातिको आवागमन बन्द गर्ने निर्णय गरेको छ । राप्ती राजमार्ग अन्तर्गत लुहाम–कपुरकोट–तुलसीपुर सडकखण्ड भने आइतबार दिउँसोसमेत बन्द गरिने भएको छ ।

प्रशासनले शनिवार जारी गरेको सूचना अनुसार २०८३ असोज १० गतेदेखि १२ गतेसम्म सल्यानका सम्पूर्ण सडक हरेक दिन बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहनेछन् । यस्तै राप्ती राजमार्गको लुहामदेखि कपुरकोट हुँदै तुलसीपुर जाने सडकखण्ड असोज ११ गते दिनको समयमा समेत सवारी आवागमन बन्द गरिने भएको हो ।

निरन्तर वर्षा र हावाहुरीका कारण जिल्लाका मुख्य तथा ग्रामीण सडकमा सडक भासिने, पहिरो तथा ढुङ्गा खस्ने र रुख तथा विद्युत्का पोल ढल्ने जोखिम बढेकाले सवारी आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द विष्टले जानकारी दिए ।

उनका अनुसार जोखिमयुक्त अवस्थामा सवारी सञ्चालन गर्दा कुनै पनि बेला मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकाले प्रशासनले सावधानी स्वरूप सडक बन्द गर्ने निर्णय गरेको हो । प्रशासनले तोकिएको समयमा सडक प्रयोग नगर्न तथा जोखिमपूर्ण यात्राबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

विद्युत् सेवा तीन शुक्रवारदेखि अवरुद्ध

सडकसँगै लगातारको वर्षा र हावाहुरीले सल्यानको विद्युत् आपूर्ति समेत प्रभावित भएको छ । शुक्रवार रातिदेखि अवरुद्ध जिल्लाको विद्युत् सेवा शनिवार दिनभर मर्मत गर्दा पनि सुचारु हुन सकेन ।

नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार हावाहुरीका क्रममा विभिन्न स्थानमा रुख ढल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् सेवा प्रभावित भएको हो ।

वितरण केन्द्रका प्रमुख नरेश रावलले शनिवार दिनभर मर्मत टोलीले क्षतिको अवस्था पहिचान गर्दै मर्मत कार्य गरे पनि प्रसारण लाइनका विभिन्न ठाउँमा क्षति पुगेकाले तत्काल विद्युत् आपूर्ति सञ्चालन गर्न नसकिएको बताए । मर्मत टोली निरन्तर काममा खटिरहेको बताइएको छ ।

विशेष गरी ३३ केभी प्रसारण लाइनअन्तर्गत लुहाम–अरिङ्गालेफेदी ९खारखोला० खण्डमा रुख ढलेर प्रसारण लाइनका संरचनामा क्षति पुगेको छ ।

अरिङ्गालेफेदी क्षेत्रमा सडक चौडा तथा स्तरोन्नतिको कामसमेत भइरहेको छ । सडक विस्तारका क्रममा डोजर प्रयोग गरी आसपासको भूभाग काटिँदा केही रुख जोखिमयुक्त अवस्थामा रहेकाले वर्षा र हावाहुरीका बेला ढल्ने जोखिम निकै धेरै हुने गरेको छ ।

रुख ढल्दा प्रसारण लाइनमा क्षति पुग्नुका साथै सडक अवरुद्ध हुने र आसपासका बस्ती तथा संरचनासमेत जोखिममा पर्ने अवस्था देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?