© 2026
नेपालगन्ज ।
बर्दियाको राजापुर घर भएका सत्यनारायण थारू विगत १८ वर्षदेखि नेपालगन्जसँग जोडिएका छन् । व्यवसाय, सामाजिक सेवा, मोडलिङ तथा अभिनय क्षेत्रमा सक्रिय रहँदै आएका ३३ वर्षीय थारू अहिले भने आफ्नो सार्वजनिक परिचयलाई नयाँ जिम्मेवारीसँग जोड्ने तयारीमा छन् । उनको लक्ष्य हो– नेपालगन्जस्थित भेरी अस्पतालको नेतृत्वमा पुगेर अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउने रहेको छ ।
भेरी अस्पतालको इतिहासमा करिब १३५ वर्षको अवधिमा पहिलोपटक थारू समुदायबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारीमा रहेको थारूले बताएका छन् । लामो समयदेखि नेपालगन्जमा बस्दै आएका आफूले यहाँका नागरिकका स्वास्थ्यसम्बन्धी समस्या, अस्पतालको सेवा र सार्वजनिक स्वास्थ्य संस्थाले भोगिरहेका चुनौतीलाई नजिकबाट नियाल्दै आएको उनको भनाइ छ । “भेरी अस्पताललाई अझ राम्रो बनाउन सकिन्छ भन्ने मेरो सपना हो । त्यसका लागि स्पष्ट भिजन, योजना र प्रभावकारी व्यवस्थापन आवश्यक छ,” थारू भन्छन् ।
होटल व्यवसायमा संलग्न थारू व्यवसायीसँगै सामाजिक गतिविधिमा पनि सक्रिय छन् । मोडलिङ तथा अभिनयमा रुचि राख्ने उनी ‘मिस्टर नेपाल’ का फाइनलिस्टसमेत हुन् । विभिन्न सामाजिक तथा सार्वजनिक गतिविधिमा संलग्न रहँदै आएका उनी अहिले आफ्नो व्यक्तिगत परिचयभन्दा सामाजिक योगदानलाई प्राथमिकतामा राख्न चाहेको बताउँछन् । राजापुरबाट नेपालगन्ज आएपछि थारूले व्यवसायसँगै सामाजिक क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै लगे । करिब १८ वर्षको नेपालगन्ज बसाइका क्रममा यहाँका नागरिक, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न समुदायसँग नजिक भएर काम गर्ने अवसर पाएको उनी बताउँछन् । यही क्रममा पश्चिम नेपालकै महत्वपूर्ण स्वास्थ्य संस्था भेरी अस्पतालप्रति उनको चासो बढेको हो ।
भेरी अस्पतालमा बाँकेसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्ला तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्छन् । ठूलो संख्यामा सेवाग्राही आउने सार्वजनिक अस्पतालमा सेवा प्रवाहलाई व्यवस्थित बनाउनु चुनौतीपूर्ण रहेको थारूको बुझाइ छ । उनका अनुसार अस्पताल सुधारका लागि केवल भवन, उपकरण र बजेट बढाएर मात्र पुग्दैन । अस्पतालभित्रको व्यवस्थापन प्रणाली, जनशक्तिको परिचालन, सेवा प्रवाह, प्रशासनिक समन्वय र सेवाग्राहीले पाउने व्यवहारमा समेत सुधार आवश्यक हुन्छ ।
“अस्पताल सुधार्न सबैभन्दा पहिले समस्या पहिचान गर्नुपर्छ । त्यसपछि योजना बनाउनुपर्छ । जिम्मेवारी स्पष्ट हुनुपर्छ । जनशक्तिको उचित परिचालन, प्रभावकारी निर्देशन र निरन्तर अनुगमन भयो भने धेरै समस्या समाधान गर्न सकिन्छ,” उनी भन्छन् ।
थारूले अस्पताल व्यवस्थापनलाई पाँच मुख्य आधारमा अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनका अनुसार योजना निर्माण, संगठन तथा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, निर्देशन तथा मार्गदर्शन र नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाउन सके अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउन सकिन्छ । पहिलो चरणमा अस्पतालको वर्तमान अवस्थाको अध्ययन गरी समस्या पहिचान गर्ने उनको योजना छ । त्यसपछि प्राथमिकताका आधारमा सुधारका कार्यक्रम बनाउने, जिम्मेवारी विभाजन गर्ने र उपलब्ध जनशक्तिलाई क्षमताअनुसार परिचालन गर्ने उनको भनाइ छ । त्यस्तै, अस्पतालमा भइरहेको कामको नियमित अनुगमन र मूल्यांकनलाई पनि उनले महत्वपूर्ण मानेका छन् । “व्यवस्थापन बलियो भयो भने उपलब्ध स्रोतसाधनबाट पनि धेरै राम्रो काम गर्न सकिन्छ । त्यसैले मेरो प्राथमिकता व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने हुनेछ,” थारूको भनाइ छ ।
भेरी अस्पतालको नेतृत्वमा आफ्नो उम्मेदवारीलाई थारू समुदायको प्रतिनिधित्वसँग पनि जोडेर हेरिएको छ । थारू समुदायबाट आएको आफूले लामो इतिहास बोकेको भेरी अस्पतालको नेतृत्व तहमा आफ्नो समुदायको उपस्थिति बढाउने सपना देखेको थारू बताउँछन् । तर आफ्नो उम्मेदवारीलाई उनी केवल जातीय प्रतिनिधित्वको विषयमा सीमित गर्न चाहँदैनन् । “म थारू समुदायबाट आएको हुँ । यो मेरो पहिचान हो । तर अस्पतालको नेतृत्व समुदायको प्रतिनिधित्वमा मात्र सीमित हुनु हुँदैन । योग्य र सक्षम व्यक्तिले जिम्मेवारी पाएर परिणाम दिन सक्नुपर्छ भन्ने मेरो सोच हो,” उनी भन्छन् । उनका अनुसार सार्वजनिक संस्थाको नेतृत्वका लागि समुदाय, क्षेत्र वा व्यक्तिगत परिचयभन्दा पनि योग्यता, व्यवस्थापन क्षमता, स्पष्ट योजना र परिणाम दिने प्रतिबद्धता महत्वपूर्ण हुन्छ ।
राजापुरबाट नेपालगन्ज आएपछि थारूले विभिन्न क्षेत्रमा आफ्नो संलग्नता विस्तार गरेका छन् । होटल व्यवसाय सञ्चालनसँगै सामाजिक सेवामा सक्रिय उनी मोडलिङ तथा अभिनयमा समेत परिचित छन् । ‘,मिस्टर नेपाल’ का फाइनलिस्ट बनेको अनुभवले समेत उनलाई सार्वजनिक क्षेत्रसँग नजिक बनाएको छ । तर अहिले आफ्नो व्यक्तिगत पहिचानभन्दा सामाजिक योगदानलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । “मैले व्यवसाय गरें, सामाजिक क्षेत्रमा काम गरें, मोडलिङ र अभिनयमा पनि लागे ं। अब समाजका लागि केही गर्नुपर्छ भन्ने सोचले सार्वजनिक संस्थाको नेतृत्वमा जाने इच्छा जागेको हो,” उनी भन्छन् । भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीले सहज, छिटो र सम्मानजनक सेवा पाउनुपर्ने थारूको मुख्य धारणा छ ।
अस्पतालमा आउने सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्न नपरोस्, सेवा लिन धेरै समय कुर्न नपरोस् र अस्पतालप्रतिको नागरिकको विश्वास अझ बलियो बनोस् भन्ने आफ्नो प्राथमिकता रहेको उनी बताउँछन् । उनका लागि अस्पताल सुधार भवन निर्माण र अत्याधुनिक उपकरण थप्नेमात्र विषय होइन । “अस्पताल भनेको भवन मात्र होइन । अस्पतालमा आउने बिरामीले पाउने सेवा नै यसको वास्तविक पहिचान हो । त्यसैले व्यवस्थापन र सेवाग्राही दुवै पक्षलाई केन्द्रमा राखेर काम गर्नुपर्छ,” थारू भन्छन् ।
अध्यक्षको जिम्मेवारी पाएमा पहिलो चरणमै अस्पतालको वर्तमान अवस्था अध्ययन गर्ने थारू बताउँछन् । अस्पतालको सेवा प्रवाह, जनशक्ति, पूर्वाधार, उपकरण, प्रशासनिक अवस्था र सेवाग्राहीका समस्यालाई अध्ययन गरी प्राथमिकताका आधारमा सुधारको योजना बनाउने उनको भनाइ छ । त्यसपछि तत्काल सुधार गर्न सकिने विषयलाई तत्काल कार्यान्वयनमा लैजाने र दीर्घकालीन सुधारका लागि छुट्टै योजना बनाएर अघि बढ्ने उनको सोच छ । उनका प्राथमिकतामा सेवा प्रवाहमा सुधार, जनशक्तिको प्रभावकारी परिचालन, पूर्वाधार विकास, व्यवस्थापन प्रणालीमा सुधार, सेवाग्राहीमैत्री वातावरण र नियमित अनुगमन रहेका छन् ।
भेरी अस्पतालजस्तो ठूलो सार्वजनिक स्वास्थ्य संस्थाको नेतृत्व गर्नु सहज भने छैन । सीमित स्रोतसाधन, ठूलो सेवाग्राही चाप, जनशक्ति व्यवस्थापन, पूर्वाधारको आवश्यकता र प्रशासनिक जटिलताबीच सुधारको योजना कार्यान्वयन गर्नु चुनौतीपूर्ण काम हो । त्यसैले थारूको उम्मेदवारीसँगै उनको योजना कार्यान्वयन गर्ने क्षमता र अस्पतालको जटिल व्यवस्थापनलाई कसरी सम्हाल्ने भन्ने प्रश्न पनि जोडिएको छ । थारू भने इच्छाशक्ति, स्पष्ट योजना र जिम्मेवारीप्रतिको प्रतिबद्धता भए सुधार सम्भव रहेको बताउँछन् । “सपना देखेर मात्र हुँदैन । त्यसलाई योजनामा बदल्नुपर्छ र योजनालाई परिणाममा बदल्नुपर्छ। मेरो उद्देश्य पनि त्यही हो,” उनी भन्छन् ।
करिब १३५ वर्षको इतिहास बोकेको भेरी अस्पतालको नेतृत्वमा पहिलोपटक थारू समुदायबाट अध्यक्ष पदमा उम्मेदवारीको दाबी सार्वजनिक भएसँगै उनको उम्मेदवारीलाई प्रतिनिधित्वसँगै व्यवस्थापन सुधारको एजेन्डासँग जोडेर हेरिएको छ ।