© 2026
सल्यान ।
सल्यानमा शनिवार बिहानदेखि चलेको तीव्र हावाहुरीका कारण छत्रेश्वरी गाउँपालिका, २ तेर्छिखर्कमा एक घरमा क्षति पुगेको छ । हावाहुरीले सल्लाको रुख ढलाउँदा स्थानीय गणेश पुन मगरको घरमा क्षति पुगेको हो ।
बिहान चलेको हावाहुरीका क्रममा सल्लाको रुख ढलेको स्थानीय विजयकुमार घर्तीले जानकारी दिए । रुख घरमाथि ढल्दा घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको बताइएको छ ।
पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ । हावाहुरीसँगै वर्षासमेत भइरहेको अवस्थामा जिल्लाका अन्य स्थानमा समेत भौतिक संरचनामा क्षति पुगेको तथा बालीनाली प्रभावित भएको अनुमान गरिएको छ । यद्यपि त्यसबारेको विवरणहरू आइसकेका छैनन् ।
हावाहुरीका कारण तरकारी बाली, धान तथा अन्य बालीमा क्षति पुगेको स्थानीय स्तरबाट जानकारी आउन थालेको छ । विशेष गरी बेमौसमी तरकारी खेती हुने कपुरकोट क्षेत्रमा हावाहुरीले असर पार्न सक्ने आँकलन गरिएको छ । साथै पाक्न लागेको धानबाली हावाहुरी र वर्षाका कारण ढल्ने तथा खेतमै क्षति हुने जोखिम बढेको छ ।
निरन्तर हावाहुरी चलिरहेमा घर, टहरा, विद्युतका संरचना, रुख तथा बालीनालीमा थप क्षति हुनसक्ने जोखिम रहेको छ । यस अघि नै जिल्लाका विभिन्न क्षेत्रमा रुख ढलेर विद्युत् प्रसारण लाइनमा क्षति पुगेको अवस्थामा हावाहुरी र वर्षाका कारण विद्युत् तथा सडक पूर्वाधारमा समेत थप असर पर्न सक्ने देखिएको छ । राप्ती राजमार्ग सहित जिल्लाका विभिन्न सडकमा आवागमन बन्द गरिएको छ ।