© 2026
सुस्ता। पश्चिम नवलपरासीको सुस्तामा बाढी पसेपछि स्थानीय विस्थापित भएका छन् । सुस्ता गाउँपालिका–५ स्थित थारु टोलबाट पस्न सुरु भएको नरायणी नदीको बाढीले हाल सम्म एक सय ६० भन्दा धेरै घरपरिवार विस्थापित भएका छन् ।
शुक्रवार दिउसोँ थारु टोलबाट बाढी पस्न सुरु भएको थियो । थारु टोलका ७८ घर परिवारलाई सुस्तामै बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ । राती सैनीक टोल, बड्का टोलमा पनि बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको शसस्त्र प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले जानकारी दिए ।
पानीको बहाव बढ्ने क्रममा रहेकाले उनिहरुलाई नारायणी नदी वारि सुरक्षित स्थानमा सार्ने तयारी छ । अधिकांश कच्चि घरमा बाढी पसेपछि स्थानीयको बिचल्ली भएको छ । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको छ । अहिले बिहान सात बजेको मापन अनुसार गण्डक ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक छ ।
पछिल्लो समय नदीमा बालुवा थुप्रिनुका साथै नारायणी नदीले आफ्नो धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि एक लाख क्युसेक पानीको बहाव पुग्ने बित्तिकै सुस्तामा बाढी पस्न थाल्दछ । स्थानीय मुन्सी हरिजनले नदीको पानीको सतह बढ्ने क्रम जारी रहेकाले सुस्ताको सबै बस्ती जोखिममा रहेको बताए ।
सुस्तामा तटबन्ध निर्माण हुन बाँकी रहेको १३२ मिटर क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको छ । सुस्तामा बस्ती संगै दर्जनौ बिगाहमा लगाइएको उखु बालीमा बाढीले क्षति पुर्याएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुस्ताको अवस्था हेरेर उद्धार गर्नुपर्ने अवस्था आए तत्काल परिचालन गर्ने गरी टोली तयारी अवस्थामा राखिएको बताए ।