© 2026
जापानमा जारी एशियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाल क्वार्टरफाइनल प्रवेश गरेको छ । जापानसँगको खेलमा वर्षाका कारण खेल नतिजा विहिन भएपछि दुबै टोलीले १—१ अँक बाँडेका हुन । नेपाल ३ अँक सहित समूह विजेता बनेको हो ।
समूह चरणको दोश्रो खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका सुन्दिप जोरा र लोकेश बमको अर्धसतकिय पारीको मद्दतमा नेपालले विशाल रनस्कोर खडा गरको थियो ।
जोराले ३ छक्का र ५ चौकाको मद्दतमा ३२ बलमा ५७ रनको अविजित अर्धसतकिय पारी खेले, यस्तै मध्यक्रममा मैदान प्रवेश गरेका लोकेश बम आक्रमक ब्याटिङ गर्दै मात्र २२ बलमा ५२ रन बटुल्दै अविजित रहे । उनले ६ छक्का र १ चौका प्रहार गरे । ओपनर ब्याटर कुशल भुर्तेल मात्र ४ रनमा आउट भएका थिए । आशिफ शेखले २१ रन बटुल्दा गुलसन झा र कुशल मल्ल २—२ रन बनाउँदै पवेलियन फर्केका थिए ।
जापानको लागि साकुरानो थोमस, इब्राहिम ताकाहासी, जेक कुसुदा र सुजुकीले समान १—१ विकेट लिएका थिए ।
समूह चरणको दोश्रो खेलको पहिलो इनिङको खेल सम्पन्न भएपनि दोश्रो इनिङ भने वर्षाका कारण हुन नसकेसँगै १ अँक मात्र बटुल्न सफल जापान प्रतियोगिताबाट बाहिरिएको छ । जापानले पहिलो खेलमा अफगानिस्तानसँग पराजय ब्यहोरेको थियो ।
जितसँगै नेपाल समूह विजेता बनेको छ । नेपालले लिगको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । खेल तालिका अनुसार समूह ए बाट २ टोली र समूह बि बाट २ टोली क्वार्टर फाइनल प्रवेश गर्नेछन । समूह ए को समूह विजेता नेपाल श्रीलँका र उपविजेता अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा प्रतिष्प्रर्धा गर्नेछन ।