© 2026
बुटवल । लगातारको वर्षाका कारण तिनाउ नदीमा पानीको सतह बढेपछि बुटवल उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गरी नदी आसपासका बस्तीको अवस्थाबारे जानकारी लिन थालेको छ । जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत सुरु गरिएको छ ।
तिनाउ नदी आसपासका जोखिमयुक्त क्षेत्रमा बुटवल नगर प्रहरीको टोली परिचालन गरिएको छ । नगर प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।
यसैबीच सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पनि तिनाउ नदी आसपासका जोखिम क्षेत्रको अवलोकन गरेको छ । नदीको पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले अवस्थाको निगरानी गरिरहेका छन् ।
तिनाउ नदीको पुलमुनि बस्दै आएको सुमित्रा दमाईको १५ जनाको परिवारलाई भने नगर प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । उनीहरूलाई बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएको नगर प्रहरीले जनाएको छ ।
तर नदी आसपासका अधिकांश स्थानीय भने तत्काल घर छाडेर सुरक्षित स्थानमा जान तयार देखिएका छैनन् । उनीहरूले जोखिम बढेपछि मात्रै सुरक्षित स्थानमा जाने बताएका छन् ।
लगातार वर्षा भइरहेकाले तिनाउ नदीको जलस्तर अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बुटबलका कान्ती मावी , कालिका मानबज्ञान मावी , सिद्धेश्वरी माबी लगाएतका सामुदायिक बिद्यालय बस्न मिल्ने गरी खुल्ला गरिएको बुटवल उपमहानगर पालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।