© 2026
काठमान्डौँ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका अधिकांश जिल्लामा झरी परिरहेको छ । लगातारको वर्षाले खोला तथा नदीमा पानीको बहाव बढेको छ भने पहिरोका कारण विभिन्न स्थानमा राजमार्गसमेत अवरुद्ध भएका छन् ।
मौसमविद्का अनुसार न्यूनचापीय प्रणाली नेपालको पूर्वी भागबाट क्रमशः पश्चिमतिर सर्दै गएको छ । यससँगै पश्चिमी भूभागमा वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ ।
‘भोलि शनिबार पूर्वी क्षेत्रमा पानी पर्ने मात्रा केही कम हुने सम्भावना छ,’ मौसमविद् रोजन लामिछानेले भने, ‘पश्चिमी भूभागमा भने आज रातिदेखि वर्षा हुने क्रम बढ्दै जाने देखिन्छ ।’
लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा बुधबारदेखि नै वर्षा भइरहेको छ । अब सुदूरपश्चिमसम्मै वर्षाको मात्रा बढ्ने मौसमविद्हरूले पूर्वानुमान गरेका छन् ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वतर्फका जिल्लालाई पहेँलो र गण्डकी प्रदेशदेखि पश्चिमतर्फका उच्च पहाडी तथा हिमाली जिल्लालाई रातो रंगले संकेत गरिएको छ ।
पहेँलो रंगले सतर्क रहँदै मौसमसम्बन्धी सूचनाबारे अध्यावधिक हुनुपर्ने जनाउँछ भने रातो रंगले बाढीपहिरोको जोखिम रहेकाले आवश्यक प्रतिकार्यका लागि तयार रहनुपर्ने संकेत गर्छ ।
निरन्तरको वर्षाका कारण मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार आज असोज ९ गते गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको छ ।
भोलि असोज १० गते बाढीको उच्च जोखिम रहेका जिल्लाको संख्या थप बढ्नेछ । महाशाखाका अनुसार नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम छ ।
आइतबारदेखि सातै प्रदेश भएर बहने साना नदी तथा खोलामा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।
मौसम विज्ञान विभागले सप्तकोशी नदीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
