Butwal Today

रिताको उपचारमा २५ लाखभन्दा बढी खर्च, जीवन बचाउन सहयोगको याचना

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

दोहा (कतार) ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवती थापाटोलकी ३२ वर्षीया रिता थापाको जीवन बचाउन परिवारले आर्थिक सहयोगको याचना गरेको छ । अचानक मस्तिष्क पक्षाघात (ब्रेन स्ट्रोक) र फोक्सोमा गम्भीर समस्या देखिएपछि दुई महिनादेखि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रिताको उपचारमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ ।

स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि रितालाई लामो समयदेखि सघन उपचार कक्ष ९आईसीयू० तथा विशेष निगरानीमा राखेर उपचार गराउनुपरेको छ । चिकित्सकीय उपचार अझै केही समय जारी राख्नुपर्ने भएपछि सामान्य आर्थिक अवस्था रहेको थापा परिवारका लागि खर्च धान्न कठिन भएको छ ।

रिताको उपचारका लागि आफन्त तथा छरछिमेकीबाट ऋणधन गरेर अहिलेसम्म खर्च जुटाइएको थियो । तर, निरन्तरको उपचारले परिवारको आर्थिक स्रोत सकिएपछि थप उपचारका लागि सहयोगको अपिल गर्नुपरेको उनका श्रीमान् सुरेश थापाले बताए । रिताका दुई साना छोराछोरीसमेत छन् ।

“सास छउन्जेल आश मार्न भएन । आफ्ना साना बच्चाहरूलाई आमाको माया र साथबाट वञ्चित हुन नदिन म हरसम्भव प्रयास गरिरहेको छु,” सुरेशले भने, “तर एक्लो प्रयासले मात्र उपचार सम्भव नहुने अवस्था आयो । आफन्तको माया र शुभेच्छा हुँदाहुँदै पनि तत्काल नगद अभाव भएकाले सबैसँग सहयोगको अपिल गर्न बाध्य भएको छु ।”

मानवीय भावनाले रिताको जीवनरक्षाका लागि सहयोग गर्न परिवारले आग्रह गरेको छ । सहयोग गर्न इच्छुक महानुभावले प्रभु बैंकमा सुरेश थापाको नाममा रहेको खाता नम्बर १६३०११५३०६०००११ मा रकम जम्मा गर्न सक्नेछन् । बिरामीको अवस्था तथा सहयोगसम्बन्धी थप जानकारीका लागि सुरेश थापाको ९८४१०५०७५० मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

परिवारले आफ्नो क्षमताले भ्याएसम्म उपचार गरिसकेको र अब उपचारलाई निरन्तरता दिन समाजका सहयोगी हातको आवश्यकता परेको जनाएको छ । सहयोगको रकम सानो वा ठूलोभन्दा पनि संकटमा परेको एउटा परिवारलाई साथ दिने मानवीय भावना महत्वपूर्ण हुने भन्दै रिताको जीवनरक्षाका लागि सक्दो सहयोग गरिदिन परिवारले सबैमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?