Butwal Today

बीसौँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाललाई कास्य पदक

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौँ ।

जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएसँगै नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको हो । यसअघि सन् २०२३ मा चीनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाल भारतसँग नै सेमिफाइनलमा पराजित भएको थियो ।

आजको सेमिफाइनल खेलमा भारतले पहिलो हाफमा ३१–१७ अङ्कको जित निकालेको थियो । भारतले दोस्रो हाफमा १७–७ अङ्कले अग्रता लियो ।

नेपालले यसअघि समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो ।

बीसौँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको यो दोस्रो पदक हो । यसअघि कराते विधातर्फ नेपालका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ किलो तौल समूहमा कास्य पदक प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?