© 2026
बुटवल ।
वरिष्ठ अर्थोपेडिक सर्जन डा. कृष्ण खरेलले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पेशागत विषय विज्ञ समूहबाट प्रतिनिधित्व गर्दै रुपन्देही क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको राजनीतिमा नेपाल विद्यार्थी संघको माध्यमबाट प्रवेश गरेका डा. खरेल लामो समयदेखि सामाजिक तथा पेशागत क्षेत्रमा सक्रिय छन् । उनले २०४७ सालमा नेपाल भ्याली क्याम्पसको स्ववियु सभापति, २०५१ सालमा नेविसंघ बंगलादेश सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।
त्यसैगरी डा. खरेलले लोकतान्त्रिक चिकित्सक संघ लुम्बिनी प्रदेशका सभापति तथा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
पेशागत दक्षता र राजनीतिक अनुभवलाई सँगसँगै अघि बढाउँदै पार्टीमा चिकित्सक तथा पेशागत क्षेत्रको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको डा. खरेलले बताएका छन् ।