Butwal Today

हिंसाविरुद्धको कानुन कार्यान्वयन गर

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

वश्वका ८० भन्दा बढी देशमा घरेलु हिंसाविरुद्धका कानुन बनिसकेका छन् । अव संस्थागत रूपमा महिला हिंसा र घरेलु हिंसाका घटना न्यून गर्न र सदियादैखि महिलामा यथावत परावलम्बी सोचमा परिवर्तन ल्याउन हिंसाविरुद्ध सशक्तरूपमा उभिने बेला आएको छ । त्यसका लागि महिला शिक्षामा जोड दिने काम अघि सार्नु जरुरी भैसकेको छ ।

किनभने महिला जबसम्म अशिक्षित हुन्छन, उनीहरूमाथि कुनै न कुनै प्रकारको हिंसा भैरहन्छ । नेपाली महिलाले परम्परागत रूपमा भोग्दै आएका विभिन्न किसिमका हिंसाको अन्त्य गर्ने प्रयास स्वरूप नेपाल सरकारले अहिले कानुनी मात्र नभएर संस्थागत व्यवस्था पनि गर्दै आएको छ । पछिल्लो महिला मन्त्रालय, राष्ट्रिय महिला आयोग, महिला विकास विभाग जस्ता उच्चस्तरीय संस्थाको स्थापना सरकारका तर्फबाट संस्थागत रूपमा प्रयास गरिएपनि सार्थक हुन सकेको छैन ।

अवको दिनमा खासगरी घरेलु महिला हिंसा नियन्त्रणका लागि साझा प्रयासको खाँचो छ । त्यसो त पछिल्लो समय हिंसा न्यूनिकरणका लागि धेरै प्रयास नभएका होइनन् तर ती परिणाममा शून्यको अवस्था देखिएको छ । अहिलेपनि सुन्दा पनि पत्याउनै नसकिने घरेलु अपराधका घटना रोकिएको छैन् ।

फेरिपनि महिला, पुरुष तथा घरेलु हिंसा वा अपराधका घटना न्यूनिकरण गर्न नेपाल सरकार लगायत सम्वद्ध संघ संस्था एवं नागरिक समाजको सहकार्यवाट मात्रै संभव छ । अवका दिनमा यो समस्या समाधानका लागि फेरिपनि कानुनले मात्र संभव छैन, त्यसका लागि प्रभावकारी संयन्त्रसहितको जनचेतनामूलक कार्यक्रम गर्नु जरुरी छ । महिला सचेतना, साक्षरता, सशक्तता र महिला स्वयं सक्षम भएको आत्मानुभूति बोध गर्नु अपरिहार्य छ । घरेलु हिंसाको कुरा गर्दा पछिल्लोसमय नेपाली समाज अमानवीय बन्दै गैरहेको छ । सामान्य निहुँमा श्रीमानले श्रीमति, सासु ससुरा, नन्द अमाजु मिलेर बुहारीको हत्या गर्ने क्रम रोकिएको छैन ।

अझै खासगरी मधेशमा यो समस्या विकराल देखापरेको छ । मधेशमा श्रीमानले श्रीमतिको ज्यान लिएको घटना सुन्न र पढ्नु परिरहेको मात्रै छैन, अरू धेरै घटनाहरू यस्ता छन जुन मानव समाजलाई नै कलंकति वनाउने प्रकृतिका छन र तीनले मानवीय समबेदना विर्सेको प्रतीत हुँदैछ । श्रीमान र श्रीमतिबीचको झगडाले परिवार नै सखाप बनेको घटना त सामान्य बन्दै गएको नेपाली समाजले भोग्नुपरेको विवस र पीडादायी यथार्थ हो । सामान्य झगडाको निहुँमा ज्यानै लिनेसम्मका घटना भैरहेका छन ।

हिंसा पनि अपराध नै हो । हिंसाको परिभाषामा विगतमा महिला हिसालाई मात्र समावेश गरिन्थ्यो तर पछिल्लोसमय पुरुषमाथि हुने हिंसालाई पनि हिंसाकै प्रकारका रूपमा ब्याख्या गर्न लागिएको छ । रौतहटमा गएको महिना आफ्नै श्रीमतिले परपुरुषसंग लागेर श्रीमानको हत्या गरिन । त्यो पनि महिलाद्वारा पुरुषमाथि भएको अपराधजन्य घटना मात्र होइन, हिंसा पनि हो ।

समय परिवर्तनशील छ र हरेक पल हिंसाका परिभाषामा पनि परिवर्तन भैरहेको छ । त्यसमाथि धेरै हिंसा महिलामाथि हुने गरेको छ र त्यो फरक प्रसंग र विषय भयो । जनसुकै कारणले भए पनि प्रायः यस्ता घटना महिलासँग सम्बन्धित हुने गर्दछन् । महिला भएकै कारणले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिसाजन्य कार्य नै महिला हिंसा हो । विशेषतः पितृ सत्तात्मक मूल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचना नै महिला हिंसाको प्रथम पुस्ताको कारकको रूपमा देखिएको छ ।

घरेलु हिंसाबाट पीडितहरू आत्महत्या, पारिवारिक हत्यादेखि सुकुम्बासी जीवनसम्म जिउनुपर्ने परिणाम भोग्नुपरेको उदाहरण छ । यी सवै हिंसाका घटना रोक्न कानुनले मात्रै संभव छैन, यद्यपि कानुन कडा भयो भने केही रोकथाम हुन्छ तर जबसम्म परिवार र समाजको चेतनास्तर माथि उठ्दैन, तबसम्म यस प्रकारका घटना भैरहन्छन । अवको दिनमा घरेलु महिला हिंसाविरुद्धको कानुन प्रभावकारी कार्यान्वयनको खाँचो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?