Butwal Today

आज राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीसमेत आउन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थान र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटरभन्दा कम भए मध्यम, ५० देखि १०० मिलिमिटरभन्दा कम भए भारी र १०० देखि २०० मिलिमिटरभन्दा कम भए धेरै भारी वर्षा मानिन्छ। २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा भए त्यसलाई अति भारी वर्षा भनिन्छ।

मौसम पूर्वानुमानमा एक–दुई स्थान भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना जनाउँछ।त्यस्तै, थोरै स्थान भन्नाले १० देखि ३० प्रतिशत, केही स्थान भन्नाले ३० देखि ५० प्रतिशत, धेरै स्थान भन्नाले ५० देखि ८० प्रतिशत र अधिकांश स्थान भन्नाले ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना बुझिन्छ। महाशाखाले शनिबारसम्मको वर्षा प्रक्षेपण सार्वजनिक गर्दै आगामी दिनमा पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?