Butwal Today

वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङमा पाँच सडकखण्ड बन्द

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

दाङ । लगातारको भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका विभिन्न पाँच सडकखण्ड दैनिक १४ घण्टा बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचनाअनुसार दाङसहित देशका धेरै भूभागमा असोज ८ गतेदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सडक बन्दसम्बन्धी सूचना जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेद्वारा जारी सूचनाअनुसार असोज ८ गतेदेखि लागू हुने गरी प्रत्येक दिन बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म देहायका सडकखण्डमा आवागमन बन्द गरिनेछ। बन्द हुने सडकखण्डमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड, भालुबाङदेखि चखचके ९प्यूठान० सडकखण्डको भालुबाङदेखि गनाहा खोलासम्म, शहीद मार्गअन्तर्गत घोराही–होलेरी सडकखण्ड, घोराही–मर्कटी सडकखण्ड तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रहेका छन्।

जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक बन्द गर्ने व्यवस्था गरिएको जनाएको छ। तोकिएको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन नगर्न र सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरिएको छ। प्रशासनले सडकको अवस्था तथा मौसमको जोखिमलाई निरन्तर मूल्याङ्कन गरी आवश्यकताअनुसार थप निर्णय लिन सक्ने जनाएको छ।

विपद्को समयमा यात्रु तथा सवारी चालकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्नसमेत आग्रह गरिएको छ।आपत्कालीन अवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय दाङ तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?