© 2026
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदलप्रति गम्भीर आपत्ति जनाएको छ। बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित गरेको प्रस्तावमा एमालेले कार्यदलले संविधानका आधारभूत संरचना नै भत्काउने प्रयास गरेको आरोप लगाएको छ। संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने भए पनि त्यसका आधारभूत स्तम्भमा असर पार्ने प्रयास स्वीकार्य नहुने एमालेको भनाइ छ।
एमालेले संविधान, लोकतन्त्र, मानव अधिकार, ट्रेड युनियन अधिकार र स्ववियु अधिकारको संरक्षणका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ। मिडिया स्वतन्त्रतामा नियन्त्रण तथा सरकारको आलोचना गर्ने नागरिक, अभियन्ता र बौद्धिक व्यक्तिमाथि गिरफ्तारी भइरहेको भन्दै पार्टीले आपत्ति जनाएको छ। त्यस्तै, राष्ट्रिय हित, प्राकृतिक स्रोतको संरक्षण र राष्ट्रिय स्वाभिमानका विषयमा सरकार संवेदनशील हुन नसकेको एमालेको आरोप छ।
एमालेले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि देशभक्त, लोकतन्त्रवादी तथा संविधान पक्षधर राजनीतिक दल, नागरिक र बौद्धिक समुदायसँग संवाद, सहकार्य र एकताका लागि आग्रह गरेको छ।