Butwal Today

कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

चन्द्रौटा । वर्षा सुरु भएसँगै कपिलवस्तुका नदी तथा खोलामा पानीको बहाव बढ्दा स्थानीयमा बाढी तथा डुबानको चिन्ता बढ्ने गरेको छ । कतिपय स्थानमा डुबान र बाढीको जोखिम निम्तिने गरेकाले समयमै पूर्वसूचना पाउनु आवश्यक हुँदै आएको थियो । अब भने सम्भावित जोखिमबारे समयमै सूचना पाउने आधार थपिएको छ ।

कपिलवस्तुमा थप नौवटा जल तथा मौसम मापन केन्द्र स्थापना गरिएका छन् । नयाँ केन्द्र थपिएसँगै जिल्लामा जल तथा मौसम मापन केन्द्रको संख्या १५ पुगेको जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले बताए ।

उनका अनुसार कपिलवस्तुमा नौवटा नयाँ केन्द्र थपिएपछि लुम्बिनी प्रदेशमा जल तथा मौसम मापन केन्द्रको संख्या ९९ पुगेको छ । नयाँ केन्द्रमध्ये चारवटा मौसम मापन र पाँचवटा जल सतह मापनका लागि स्थापना गरिएको उनले जानकारी दिए ।

शिवराज–मैनार, बुद्धभूमि–रनगाई र यशोधरा–बैदौलीलगायतका स्थानमा मौसम मापन केन्द्र स्थापना गरिएको छ । त्यस्तै, गुडरुङ खोला, बेल नदी र वाणगंगा नदीअन्तर्गत विभिन्न स्थानमा जल सतह मापन केन्द्र राखिएका छन् ।

यसअघि तौलिहवा, पत्थरकोट, भगवानपुर र वाणगंगामा गरी चारवटा मौसम मापन केन्द्र सञ्चालनमा थिए । नयाँसहितका केन्द्रबाट वर्षा, तापक्रम, हावाको गति तथा नदी–खोलाको जल सतहसम्बन्धी तथ्याङ्क संकलन गरिनेछ ।

संकलित तथ्याङ्कका आधारमा बाढी, डुबान, बेमौसमी वर्षा, असिना तथा चट्याङको जोखिमबारे पूर्वसूचना प्रवाह गर्न सहज हुने जनाइएको छ । यसबाट सम्भावित विपद्को जोखिम न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख अवस्थीले बताए ।

रेन परियोजनाको करिब ३५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएका ती केन्द्र स्थानीय तहलाई हस्तान्तरण गरिएको परियोजनाका पूर्वसूचना तथा कार्यक्रम संयोजक समिता पौडेलले बताइन् ।

मौसमविद् हिरा भट्टराईले जल तथा मौसम मापन केन्द्रबाट तथ्याङ्क संकलन, सूचना प्रवाह र पूर्वसूचना प्रणालीको प्रयोग गरी विपद्को जोखिम न्यूनीकरण गर्न सकिने बताए ।

लुम्बिनी प्रदेशमा हाल ७८ स्थानमा मौसम मापन केन्द्र र २१ नदीमा जल मापन केन्द्र सञ्चालनमा रहेका छन् । ७८ मौसम मापन केन्द्रमध्ये ५६ वटा वर्षा मापन, १६ वटा हावापानी मापन र चारवटा कृषि हावापानी मापन केन्द्र रहेका छन् । नेपालगञ्ज विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा हवाई मौसम केन्द्र सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?