Butwal Today

दशैंका यात्रीको सुरक्षाको चिन्ता

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

आजदेखि भारी बर्षा हुने मौसम विभागको चेतावनीले नजिकै आएको दशैं प्रभावित हुने चिन्ता थपिएको छ । त्यसैपनि भदौ १० गते आएको बाढीको बिनासले मुलुकलाई स्तब्ध वनाएको वर्तमान अवस्थामा आजदेखि पर्ने भारी बर्षाले मुलुकको सडक सञ्जालमा ठूलो क्षति पु¥याउने निश्चित छ । बल्लबल्ल मुग्लिङ नारायणगढ र मुग्लिङ काठमाण्डौं सडक खुलेको छ ।

त्यसमाथि आजदेखिको भारी बर्षाले तिन दिनपछि सुरु हुने सोह्र श्राद्ध र दशैंका यात्रुका लागि सहज नहुने अवस्था आउन सक्छ । त्यसकारण सरकारले दशैंमा सहज यात्राका लागि पूर्व तयारीको काम सुरु गरोस् । राष्ट्रिय राजमार्गमा कुनैपनि प्रकारको अवरोध नहोस् । अहिले मुग्लिङ काठमाण्डौं सडक खण्डको कृष्णभीरको पहिरो बल्ल बल खुलेको छ । उक्त सडक खण्डमा एकतर्फी यातायात चलिरहेको छ ।

त्यसमाथि आजदेखिको भारी बर्षाको प्रक्षेपणले सडक सुरक्षालाई लिएर चिन्ता थपिएको छ । नेपालको सडकको कमजोर बनावटका कारण यात्रुले पाउने सास्तीको बयान गरेर सकिदैन् । यो सानो उदाहरण मात्रै हो । देशका धेरै सडकको अवस्था नाजुक छ । सवारीका साधन हिँडन नमिल्ने अवस्थामा छन् । त्यसमाथि अहिले दशैं नजिक आईसकेको छ ।

विगतका बर्षमा राजधानी काठमाण्डौंबाट दशैं मान्न फर्किनेहरूले सडक बन्द हँुदा ठूलो सास्ती भोग्नु परिरहेको अवस्था सम्झिने हो भने कहाली लाग्छ । अर्कोतर्फ यही बेला सडक दुर्घटना बढ्ने गरेको छ । दशैं र तिहार मान्न घर फर्किनेहरू सडक दुर्घटनामा परेको र ठूलो मानवीय क्षति भएको अवस्था छ । त्यसकारण सडक सुरक्षामा ध्यान दिनु जरुरी छ ।

यस्तो समयमा हुने दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारमा पर्ने बज्रपातको कल्पनासम्म पनि गर्न सकिदैन । दशैं तिहार मनाउन नेपालबाट मात्र होइन विदेशबाट समेत नेपालीहरू आउँछन् । दशैं तिहारकै समयमा सार्वजनिक सवारीका साधनमा भीड हुने गर्दछ । अन्ततः सडकको अवस्था नाजुक, सवारी साधनको भीड, यात्रुको चाप, सडकको दुरावस्था र चालकको लापरवाहीले दुर्घटना नियन्त्रण भन्दा पनि बढ्दै गएको छ । दुर्घटना नियन्त्रणमा यी पक्षबीच सहकार्य आवश्यक छ । तसर्थ सम्वन्धित निकायले चाडपर्वमा अझै बढी दुर्घटना नियन्त्रणका उपायका लागि पूर्व सावधानीको आवश्यकता छ । सवैभन्दा महत्वपूर्ण कुरा सरकारले दशैं र तिहारका लागि सवैभन्दा बढी ध्यान सडकमा दिनुपर्दछ ।

नेपालमा प्राकृतिक विपत्तीका घटना धेरै हुने गरेका छन् । त्यसमाथि चाडपर्वको समयमा बढी जोखिम हुने गरेको छ । अतः सरकार र सम्बद्ध निकायले यही बेला दशैंका यात्रुले सास्ती भोग्नु नपरोस भनेर आवश्यक तयारीका काम गर्न ढिलाई नगरुन । नेपालका धेरै र महत्वपूर्ण चाडपर्व पानी आउने बेलामै पर्दछन । यो विगतदेखिकै उदाहरण हो । फेरीपनि दुर्घटनाको ग्राफ बढिरहेको छ ।

यस्तो अवस्थामा दुर्घटनाको जोखिम कम गर्नेतर्फ सवै सचेत हुनु जरुरी छ । त्यसो त हरेक बर्ष ट्राफिक प्रहरीले चाडपर्व लक्षित दुर्घटना नियन्त्रण अभियान सञ्चालन गर्दछन । यो बर्षपनि अभियान सञ्चालन हुँदैछ । तर अभियान साँचो अर्थमा दुर्घटना नियन्त्रणमा सहयोग पुग्नेगरी हुनुपर्दछ । आगामी दिनमा हुने सवारी दुर्घटनाका विभत्स घटना रोक्न सवारी सञ्चालक, यातायात व्यवसायी, प्रहरी प्रशासन र स्वयं सरकारसमेत आ–आफ्नो ठाउँबाट जिम्मेवार ढंगले लाग्न अति जरुरी छ ।

हरेक दिन पानी परिरहेको अवस्थामा पहाडी क्षेत्रमा पहिरोको जोखिम समेत बढिरहेको छ । अतः सडकको सास्ती पञ्छाउन सरकारको चौबिसै घण्टा ध्यान जाओस् । खासगरी दशैं तिहार सुरक्षा योजनामा यातायात क्षेत्रको मुद्दालाई मूख्य प्राथमिकतामा राख्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?