© 2026
बुटवल ।
लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्विनी प्राविधिक विश्वविद्यालयमा उपकुलपति नियुक्तका लागि जेन जी आन्दोलनको भावना विपरित नेकपा एमालेको जन संगठन नेपाल प्राध्यापक संगठनका पूर्व अध्यक्ष वेद केसीलाई नियुक्ति दिनका लागि स्वयं विश्वविद्यालयसभाले प्रस्ताव गरेको विधान संशोधनसम्वन्धी प्रस्तावलाई लत्याइदिएका छन् ।
विधान संशोधनका लागि आचार्य स्वयंले हालका कामचलाउ उपकुलपति निरज केसीलाई जिम्मेवारी दिएका थिए । सो काम केसीले वेद केसीकै सहमतिमा केन्द्रीय विश्वविद्यालयको उपकुलपति छनौटसम्वन्धी कार्यविधि २०८३ को अनुकुल हुने गरी विधान संशोधनको प्रस्ताव गरिएको थियो ।
यस वमोजिम संशोधन गर्दा प्रतिस्पर्धाको दायरा फराकिलो हुने र त्यसो गर्दा वेद केसी नआउने सम्भावना देखिएपछि मुख्यमन्त्री आचार्यले सो प्रस्तावलाई संकुचन गराएर प्रस्ताव पेश गर्न वेद केसीलाईनै आदेश दिएका छन् ।
पहिलो पटक प्रस्तुत प्रस्तावप्रति सामाजिक विकास मन्त्री, मन्त्रालयका सचिव, कामचलाउ उपकुलपति सवैको सहमति थियो ।
विधानको दफा २३ मा उपकुलपतिको नियुक्ति र छनोटको व्यवस्था गरिएको छ । हाल संघीय सरकारले उपकुलपति छनौट गर्दा सार्वजनिक आवेदन, निर्धारित योग्यता, प्राज्ञिक तथा विश्वविद्यालयीय अनुभव, अनुसन्धान र प्रकाशन, नेतृत्व क्षमता, विश्वविद्यालयसम्बन्धी दृष्टिपत्र, प्रस्तुतीकरण र अन्तर्वार्ताको आधार बनाएको थियो । र यसै अनुसार संघीय विश्वविद्यालयका उपकुलपनिहरु छनौट भएका छन् ।
हालको व्यवस्था अनुसार विधानले उपकुलपतिको लागि १५ वर्षको विश्वविद्यालयस्तरीय प्राध्यापन वा अनुसन्धान र प्राध्यापकको उपाधिलाई न्यूनतम योग्यता तोकिएको छ । जवकि विधानको यो व्यवस्था नेपाल सरकार शिक्षा मन्त्रालयले २०८३ मा जारी गरेको उपकुलपति छनौट सम्बन्धी एकिकृत कार्यविधि संग पूर्ण रुपमा बाझिएको छ ।
केन्द्रीय कार्यविधिले उपकुलपतिको लागि अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवलाई योग्यताको मुख्य आधार बनाएको छ । यस अनुसार उपप्राध्यापकसम्मले उपकुलपतिका लागि आवेदन दिने अवसर पाएका थिए । यही फराकिलो व्यवस्था अनुसार मध्यपश्चिम विश्वविद्यालयलगायतका विश्वविद्यालयमा सहप्राध्यापकहरुले नियुक्ति लिएका छन् ।
यस अघि पनि यस्तै कठोर व्यवस्थाका कारण ५ वर्षसम्म विश्वविद्यालयले कुनै गति लिन सकेको छोएन । यसको कारण सिण्डीकेटबाट आएका पदाधिकारी हुनु र उनीहरुको अधिकारको संकुचन पनि हो ।