© 2026
काठमाडौँ । आज बुधबार राति देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, बागमती प्रदेशका पहाडी तथा तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
त्यस्तै कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा पनि थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिमी वायुको आंशिक प्रभाव पनि छ। साथै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय क्षेत्रका रूपमा रहेको र यो थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने मौसमविद्हरूले बताएका छन्।
यस प्रणालीको प्रभाव नेपालमा क्रमशः बढ्दै जाने र शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि अति भारी वर्षासम्म हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा हल्का, १०–५० मिलिमिटर मध्यम, ५०–१०० मिलिमिटर भारी, १००–२०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा अति भारी मानिन्छ।