Butwal Today

महाधिवेशनबाट गगन नै पार्टी सभापति : बालकृष्ण खाँण

७ आश्विन २०८३, बुधबार
अ+
अ-

बुटवल। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आगामी १५औँ महाधिवेशनबाट गगनकुमार थापा नै पार्टी सभापति बन्ने दाबी गरेका छन्। कांग्रेस बुटवल उपमहानगरपालिका समितिको बुधबार आयोजित अधिवेशन उद्घाटन समारोहमा बोल्दै खाँणले १५औँ महाधिवेशनले थापालाई सर्वसम्मत सभापति चयन गर्ने दाबी गरे। उनले यसपटकको महाधिवेशन एकताको महाधिवेशन भएको बताए।

‘अहिले हामी कांग्रेस कार्यकर्तालाई कुनै दुविधा छैन, पार्टीमा ठूला सैद्धान्तिक मतभेद पनि छैनन्,’ खाँणले भने, ‘यसपटक देशभर वडा तहमा ९० प्रतिशत सहमति भएको छ।’ विगतका महाधिवेशनमा नेतृत्व र पार्टीको वैचारिक दिशालाई लिएर तीव्र मतभेद हुने गरेको स्मरण गर्दै उनले अहिले त्यस्तो अवस्था नरहेको बताए। उनका अनुसार विगतमा पार्टीको नेतृत्व चयनदेखि राजनीतिक विचारधारासम्म गम्भीर मतभेद देखिने गरेका थिए।

खाँणले कांग्रेसको नेतृत्व युवापुस्तातर्फ अघि बढेको दाबी गर्दै नयाँ पुस्ताले पार्टीको जिम्मेवारी लिन अगाडि सर्नु सकारात्मक भएको बताए। उनले गगन थापाको नेतृत्वमा पार्टी अघि बढ्ने दाबीसमेत गरे। यस्तै, वर्तमान सरकारले संविधानलाई निस्तेज बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै खाँणले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेस एकताबद्ध र बलियो हुनुपर्ने बताए। ‘संविधान निस्तेज बनाउनु भनेको प्रजातान्त्रिक मूल्य–मान्यता कमजोर हुनु हो,’ उनले भने, ‘त्यसकारण कांग्रेसलाई एकताबद्ध र बलियो बनाउने दायित्व आम कार्यकर्ताको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?