© 2026
ललितपुर ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को भ्रमण गरी चिनियाँ ‘डिएनए’ तथा ‘फरेन्सिक’ पहिचान विज्ञहरूले गरिरहेको कामको अवलोकन गरेका छन् ।
ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा पुगी आज उनीहरुले रसुवा बाढीमा परेका मृतक तथा बेपत्ता व्यक्तिका परिवारको डिएनए परीक्षणमा सहयोग गरिरहेका विशेषज्ञ टोलीप्रति आभार व्यक्त गरे ।
निरीक्षणका क्रममा मन्त्री पुनले विपद्बाट प्रभावित परिवारलाई सान्त्वना प्रदान र सहयोग पु¥याउन‘डिएनए’ तथा ‘फरेन्सिक’ परीक्षणलाई प्रभावकारी तुल्याउन सुझाव दिए ।
मन्त्री पुनले भने, “आफ्ना आफन्त तथा प्रियजन गुमाएका परिवारलाई उनीहरूको अवस्थाबारे जानकारी गराउन डिएनए परीक्षण अत्यन्त महत्वपूर्ण माध्यम हो, परीक्षणमा संलग्न विशेषज्ञको मेहनतप्रति धन्यवाद भन्न चाहान्छु ।”
उनले बाढी तथा विपद्का कारण ज्यान गुमाएका र बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डिएनए परीक्षणलाई तीव्र बनाउन आग्रह गरे ।
नमूना सङ्कलनदेखि प्रयोगशालासम्म सुरक्षित रूपमा पठाउने प्रक्रिया संवेदनशील विषय भएकाले ठूलो सङ्ख्यामा नमूना प्राप्त हुन नसकेको भन्दै उनले सम्भव भएसम्म छिटो नमूना उपलब्ध गराउने प्रयास गरिने बताए ।
नेपाल प्रहरीको डिएनए परीक्षण प्रयोगशाला ठूलो क्षमताको रहेको उल्लेख गर्दै प्रहरीकै अन्य र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको क्षमता तुलनात्मक रूपमा सीमित रहेको बताए ।
मन्त्री पुनले भने, “बाढीमा आफन्त गुमाएका परिवारका लागि डिएनए परीक्षण निकै महत्वपूर्ण छ । विपद्का कारण सबै शव पूर्ण रूपमा प्राप्त गर्न नसकिएको अवस्थामा सानो अंशबाट आफन्तको पहिचान गर्न डिएनए परीक्षण परिवारलाई अवस्थाबारे जानकारी गराउने महत्वपूर्ण माध्यम बनेको छ ।”,।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विपद्पछिको उद्धार, राहत तथा प्रभावित व्यक्तिको पहिचानका लागि नेपालमा खटिएका चिनियाँ विशेषज्ञको कामको प्रशंसा गर्दै नेपाललाई समस्याबाट पार पाउन चीनले आफ्नो तर्फबाट हरसम्भव सहयोग जारी राख्ने बताएका छन् ।
नेपालमा तीन साताभन्दा बढी समयदेखि निरन्तर काम गरिरहेका चिनियाँ विशेषज्ञलाई धन्यवाद ज्ञापन गर्दै राजदूत माओमिङले विज्ञको कार्यमा सहयोग र सहजीकरण गरेकोमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट० तथा सम्बन्धित नेपाली निकायप्रति आभार व्यक्त गरे ।
विपद्पछिका असर न्यूनीकरण तथा उद्धार कार्यमा सहयोग पु¥याउन चिनियाँ विशेषज्ञका लागि प्रयोगशाला स्थापना गर्न गरिएको सहयोगप्रति उनले विशेष धन्यवाद व्यक्त गरे ।
राजदूत माओमिङले भने, “चिनियाँ विशेषज्ञको काममा नेपाली पक्षले गरेको सहयोग, सहकार्य तथा हेरचाह प्रशंसा योग्य छ, चिनियाँ विशेषज्ञ, उपकरण, कार्यविधि, प्राविधिक दक्षता र कामको गतिबाट प्रभाव देखिएको छ ।”
नेपाल र चीनको संयुक्त प्रयासबाट विपद् प्रभावित मानिसलाई सहयोग गर्नुका साथै मृतक तथा बेपत्ता व्यक्तिको पहिचानमा थप प्रभावकारी काम गर्न सकिने माओमिङको विश्वास थियो ।
उनले नेपाल र चीनबीच आगामी दिनमा अझ फलदायी सहकार्यका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नास्टसँग नजिकबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“चीन सधैँ दृढताका साथ नेपालको पक्षमा उभिएको छ, नेपाललाई विभिन्न समस्याबाट पार पाउन सहयोग गर्न चीनले आफ्नो तर्फबाट निरन्तर प्रयास गर्ने छ ।”, माओमिङले भने ।
चिनियाँ दूतावासका सहकर्मीहरूसहित नेपालमा थप उपलब्धि हासिल गर्न सबै पक्षसँग पूर्ण रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाल–चीन मित्रता अझ सुदृढ बनाउने धारणा राखे ।
चिनियाँ फरेन्सिक विज्ञहरूले नेपाली टोलीसँग सहकार्य गरी डिएनए परीक्षण तथा पीडितको पहिचानसम्बन्धी काम अघि बढाइरहेका छन् ।
यसअघि उनीहरुले चिनियाँ विज्ञ तथा नेपाली प्राविधिक टोलीसँग डिएनए तथा फरेन्सिक पहिचानसम्बन्धी कार्यको प्रगति, प्रयोग भइरहेका प्रविधि र सहकार्यका विषयमा जानकारी लिएका थिए ।