Butwal Today

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

७ आश्विन २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए । उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित गर्नेगरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विज्ञापन बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्नुपर्ने बताए ।

विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए । लोककल्याणकारी विज्ञापन वितरणलाई समेत वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक रहेको उनले बताए ।

लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको सन्दर्भ उल्लेख गर्दै उनले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्र सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताए । नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपाल विज्ञापन सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका श्रेष्ठसँग विज्ञापन तथा सञ्चारक्षेत्रमा लामो अनुभव छ । उनले काठमाडौँस्थित किङ्गस कलेज र डनबस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?