Butwal Today

गरिबीको चपेटामा यौन शोषणको जोखिम

७ आश्विन २०८३, बुधबार
अ+
अ-

नवलपरासी ।

पश्चिम नवलपरासीको सीमावर्ती तथा नदी किनारका विपन्न बस्तीमा आर्थिक अभाव, बेरोजगारी र चेतनाको कमीका कारण महिलासँगै किशोरीसमेत यौन शोषण तथा जोखिमपूर्ण व्यवहारको चपेटामा पर्ने अवस्था देखिएको छ । स्वास्थ्यकर्मी तथा सामाजिक क्षेत्रमा क्रियाशील संस्थाका अनुसार यस्तो अवस्थाले यौनजन्य सङ्क्रमणसँगै बाल संरक्षण र मानव बेचबिखनको जोखिमसमेत बढाएको छ ।

सुस्ता गाउँपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका परिवारका महिलाहरू विभिन्न बहानामा यौन शोषणमा पर्ने गरेको स्थानीय सामाजिक अभियन्ताहरू बताउँछन् । खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने प्रलोभन देखाएर विपन्न परिवारका महिला तथा किशोरीलाई यौन शोषणमा पार्ने गरेको उनीहरूको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका कतिपय परिवारका सदस्यलाई दैनिक गुजारा चलाउनकै लागि जोखिमपूर्ण काममा निर्भर हुनुपर्ने अवस्था रहेको सामाजिक अभियन्ता इन्दिरा चौधरी बताउँछिन् । उनका अनुसार नारायणी नदी आसपासका बस्तीमा रोजगारीका अवसर न्यून हुँदा महिलाहरू बर्दघाट, परासी, कावासोती तथा सीमावर्ती भारतीय बजारसम्म पुग्ने गरेका छन् ।

स्थानीयका अनुसार कतिपय महिला होटल तथा अन्य स्थानमा गएर आम्दानी गर्ने गरेका छन् । यसमा केही महिला आफ्नो आर्थिक आवश्यकताका कारण यस्तो काममा पुगेको बताउँछन् भने कतिपय साथीभाइको प्रभाव, पारिवारिक समस्या तथा वैकल्पिक रोजगारीको अभावका कारण जोखिमपूर्ण व्यवहारमा संलग्न हुने गरेको उनीहरूको भनाइ छ ।

सुस्ताकी एक महिलाले श्रीमानको आम्दानीले मात्र परिवार धान्न कठिन भएपछि बाहिर गएर काम गर्न थालेको बताइन् । उनका अनुसार आर्थिक अभावसँगै साथीसङ्गतका कारण आफू यौन कारोबारमा पुगेकी हुन् । यस्ता महिलामध्ये केहीले सुरक्षित यौन व्यवहारका उपाय अपनाउने गरेको भए पनि सबैमा स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारी नरहेको सामाजिक संस्थाहरू बताउँछन् ।

बर्दघाट क्षेत्रमा पनि घरेलु कामबाट पर्याप्त आम्दानी नभएपछि जोखिमपूर्ण यौन व्यवहारमा पुगेका महिलाहरू भेटिएको बताइएको छ । स्थानीयस्तरमा काम गरेर हुने आम्दानी र यौन कारोबारबाट प्राप्त हुने तत्कालीन रकमबीचको अन्तरका कारण कतिपय महिला त्यसतर्फ आकर्षित हुने गरेको उनीहरूको भनाइ छ ।

सामाजिक क्षेत्रमा क्रियाशील ‘नारी आवाज’की दुर्गा तिमिल्सिनाका अनुसार नवलपरासी क्षेत्रमा मात्रै आठ सयभन्दा बढी यौनकर्मी रहेको संस्थाको अनुमान छ । तीमध्ये अधिकांश आर्थिक रूपमा विपन्न महिला रहेको उनी बताउँछिन् ।

“गरिबी, बेरोजगारी र परिवारको कमजोर आर्थिक अवस्थाका कारण धेरै महिला जोखिमपूर्ण अवस्थामा पुगेका छन्,” तिमिल्सिनाले भनिन्, “स्वास्थ्य परीक्षण, परामर्श र सुरक्षित यौन व्यवहारबारे जानकारी दिन संस्थाले नियमित रूपमा काम गरिरहेको छ ।”

नेपाल परिवार नियोजन सङ्घ रुपन्देहीका शाखा प्रमुख शोभाकान्त न्यौपानेका अनुसार यौनकर्मी तथा अन्य जोखिममा रहेका समूहमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको छ । उनका अनुसार गरिएको स्वास्थ्य परीक्षणमा केही महिलामा पाठेघरको मुखको क्यान्सरको सम्भावित सङ्केत, यौनाङ्गको सङ्क्रमण तथा अन्य स्वास्थ्य समस्या पहिचान भएको छ ।

न्यौपानेका अनुसार स्वास्थ्य परीक्षणका क्रममा ६९ जनामध्ये पाँच जनामा पाठेघरको मुखको परीक्षणबाट सम्भावित समस्या देखिएको थियो भने २८ जनामा यौनाङ्गको सङ्क्रमण पहिचान भएको थियो । थप परीक्षण आवश्यक देखिएका केही व्यक्तिलाई सम्बन्धित अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिइन् ।

नेपालमा एचआईभी नियन्त्रण कार्यक्रमले पनि यौनकर्मी तथा उनीहरूका ग्राहकलाई एचआईभीको जोखिम समूहका रूपमा पहिचान गरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार यौनकर्मी तथा उनीहरूका ग्राहक, पुरुष–पुरुष यौन सम्बन्ध राख्ने व्यक्ति तथा ट्रान्सजेन्डरलगायत समूहमा एचआईभी रोकथामका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

एचआईभी संक्रमणको जोखिम न्यूनीकरणका लागि पूर्व–संक्रमण रोकथाम औषधि ९प्रेप० लगायतका सेवा उपलब्ध गराइँदै आएको छ । राष्ट्रिय मानक सञ्चालन प्रक्रियाले पछिल्लो छ महिनामा पैसा, वस्तु, औषधि वा अन्य सुविधाको बदलामा यौन सम्पर्कमा संलग्न भएको व्यक्तिलाई समेत प्रेप सेवाका लागि जोखिम समूहमा राखेको छ ।

नवलपरासीमा ९७ जना, रुपन्देहीमा ८८ जना र पाल्पामा तीन जनालाई निःशुल्क प्रेप औषधि उपलब्ध गराउँदै आएको नेपाल परिवार नियोजन सङ्घ रुपन्देहीले जनाएको छ । यौन सर्ने सङ्क्रमणको पहिचान, उपचार, परामर्श तथा सुरक्षित यौन व्यवहार प्रवद्र्धनका लागि सरकारी स्वास्थ्य संस्था तथा गैरसरकारी संस्थामार्फत सेवा सञ्चालन भइरहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

यसैबिच बर्दघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नवलपरासी र रुपन्देहीका साथै भारतको बिहारबाट आएका जोखिममा रहेका किशोरकिशोरी तथा वयस्कको सहभागिता रहेको थियो । शिविरमा यौन तथा प्रजनन स्वास्थ्य, यौन सर्ने सङ्क्रमण, एचआईभी रोकथाम र सुरक्षित व्यवहारबारे परामर्श दिइएको थियो ।

सामाजिक अभियन्ताहरूले भने स्वास्थ्य उपचार र रोकथामका कार्यक्रमसँगै यस्तो जोखिमको मूल कारणका रूपमा रहेको गरिबी र बेरोजगारी समाधानमा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार विपन्न परिवारका महिलालाई रोजगारी, सीप विकास, शिक्षा तथा सामाजिक सुरक्षासँग जोड्न नसके स्वास्थ्यसम्बन्धी कार्यक्रमले मात्र समस्या समाधान गर्न कठिन हुनेछ ।

विशेषगरी बालिकालाई यौन शोषणबाट जोगाउन परिवार, स्थानीय तह, विद्यालय, प्रहरी तथा सामाजिक संस्थाबीच समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ । नेपालमा १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमा भएको करणीसमेत कानुनतः जबर्जस्ती करणी मानिने व्यवस्था रहेकाले बालबालिकासँग सम्बन्धित यस्ता घटनालाई सामान्य आर्थिक कारोबारका रूपमा लिन नहुने कानुनी व्यवस्था छ ।

गरिबीबाट सुरु हुने आर्थिक बाध्यता, सीमावर्ती क्षेत्रको आवागमन, रोजगारीको अभाव र स्वास्थ्य चेतनाको कमीलाई एकसाथ सम्बोधन गर्न सके मात्रै यौन शोषण तथा जोखिमपूर्ण व्यवहार न्यूनीकरण गर्न सकिने सरोकारवालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?