© 2026
यमन । यमनको दक्षिणपश्चिमी ताइज प्रान्तस्थित रणनीतिक लाल सागर बन्दरगाह सहर मोचामा मङ्गलबार साउदी अरबले गरेको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको र ८ जना घाइते भएको हुथी समूहद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।
हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनका अनुसार साउदी लडाकू विमानले मोचाको १ आवासीय क्षेत्रमा ३ हवाई आक्रमण गरेका थिए । आक्रमणमा २ बालबालिका र १ महिलासहित ६ जनाको मृत्यु भएको तथा अन्य ८ जना घाइते भएका जनाइएको छ । आक्रमणमा मारिएका र घाइते भएका बालबालिकाको दृश्यसमेत उक्त टेलिभिजनले प्रसारण गरेको छ ।
घटनाबारे साउदी अरबबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । साउदी अरब र हुथी समूहबीच पछिल्लो समय बढिरहेको सैन्य तनावका क्रममा यमनका हुथी नियन्त्रणमा रहेका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण भइरहेका छन् । त्यसको जवाफमा हुथी समूहले साउदी अरबका विभिन्न स्थानलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएको छ ।
मोचा पछिल्लो द्वन्द्वमा महत्त्वपूर्ण युद्ध क्षेत्र बनेको छ । हुथी सेनाले सेप्टेम्बर १० मा मोचा बन्दरगाह सहर कब्जा गर्दै धुबाब हुँदै दक्षिणतर्फ अघि बढेको तथा सेप्टेम्बर ११ मा बाब अल–मन्दब जलघाँटीको मध्यभागमा रहेको माय्युन टापु नियन्त्रणमा लिएको दाबी गरिएको छ । त्यसपछि यमनी सरकारी सेनाले दक्षिणतर्फ रक्षात्मक स्थानमा फर्किनुपरेको जनाइएको छ ।
बाब अल–मन्दबलाई हेर्ने दुर्गम उच्च भूभागमा समेत पछिल्लो समय लडाइँ तीव्र भएको छ । सरकारी सेनाले हुथी समूहको थप विस्तार रोक्न तथा लाल सागरलाई एडनको खाडी र हिन्द महासागरसँग जोड्ने महत्त्वपूर्ण समुद्री मार्गका रणनीतिक स्थान पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।
यमनमा सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी साना र उत्तरी यमनको ठूलो भूभाग कब्जा गरेपछि द्वन्द्व सुरु भएको हो । त्यसपछि सन् २०१५ मा साउदी अरबको नेतृत्वमा गठित गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा यमनमा सैन्य हस्तक्षेप गरेको थियो ।
–––