© 2026
गुल्मी ।हरियाली जङ्गल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यबीच रमाउन चाहनेका लागि रेसुङ्गा पार्क यतिबेला गुल्मीको प्रमुख गन्तव्य स्थलको रूपमा विकसित हुँदै गएको छ । रेसुङ्गाको गर्जुरा क्षेत्रको निर्माण गरिएको पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेसँगै यस क्षेत्रमा पर्यटन गतिविधि समेत विस्तार हुँदै गएको छ ।
पार्कको सुन्दर आकर्षण र मनोरम स्थलका कारण रेसुङ्गा क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्न थालेको हो । वरिपरिको हरियाली जङ्गलबीच निर्माण गरिएको पार्कले बालबालिका, युवायुवती तथा वृद्धवृद्धासम्मका लागि घुमफिर गर्ने रमणीय स्थान बनेको छ । पार्कभित्र र बाहिर देखिने प्राकृतिक सौन्दर्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।
सदरमुकाम तम्घासदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको पार्कसम्म पुग्न सडक कालोपत्रे गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा उक्त पार्क निर्माण गरिएको हो । पार्क निर्माणका लागि सङ्घीय सरकार र स्थानीय तहबाट रु छ करोडभन्दा बढी लगानी भैसकेको छ । निर्माण सम्पन्न भएको छोटो समयमै पार्कले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको रेसुङ्गा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हालसम्म ३० हजार भन्दा बढीले पार्कको प्रत्यक्ष अवलोकन गरिसकेका छन् ।
पार्कबाट नगरपालिकाले करिब १० लाख राजस्व समेत सङ्कलन गरिसकेको बताइएको छ । पार्कमा प्रवेशका लागि रेसुङ्गा नगरपालिकाले टिकट प्रणाली लागू गरेको छ । जसअनुसार सर्वसाधारणका लागि ५० रुपैयाँ, ज्येष्ठ नागरिक, विद्यार्थी तथा बालबालिकाका लागि २५ रुपैयाँ र विदेशी नागरिकका लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । पार्कभित्र भ्यूटावर, पिङ, वनभोजस्थल, फोटो खिच्ने स्थान, बालबालिकाका लागि प्ले–जोन, पोखरी र पुललगायतका संरचना निर्माण गरिएका छन्। यस्ता संरचनाले पार्कको आकर्षण थप बढाएका छन् ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा पार्कले जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा प्राकृतिक महत्वलाई उजागर गर्दै जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले पार्क निर्माण गरिएको उनले बताए । “रेसुङ्गा पार्कले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीय आर्थिक गतिविधि बढाउन पनि सहयोग पु¥याउनेछ,” पन्थीले भने ।
नगरपालिकाले रेसुङ्गा क्षेत्रमा पर्यटन पूर्वाधार विस्तारलाई समेत प्राथमिकता दिएको छ । पर्यटन प्रवद्र्धनका लागि एक करोडभन्दा बढी लगानीमा रेसुङ्गाको नुनामारेदेखि रेसुङ्गा पार्कसम्म जिपलाइन र स्काई साइकलिङजस्ता साहसिक तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण भैसकेको छ । रेसुङ्गा क्षेत्र धार्मिक तथा प्राकृतिक एवं पर्यटनका दृष्टिले महत्वपूर्ण मानिन्छ ।
यहाँको वन, मनोरम पहाडी दृश्य, धार्मिक स्थल र थपिँदै गएका पर्यटकीय पूर्वाधारले रेसुङ्गालाई गुल्मीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पु¥याइरहेका छन् । सार्वजनिक बिदाका दिन परिवार सहित पार्क घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।