Butwal Today

प्रतिनिधिसभाको बैठक बस्दै

६ आश्विन २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।  सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ ।

बिहान १०ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदसँग छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १०ः०० बजे बस्नेछ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्दै छ । समितिको बैठकमा नेपालमा स्वदेशी तथा वैदेशिक एवं निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा आयोजना गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारलगायतका विषयमा छलफल गरिनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्दै छ । बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?