© 2026
काठमाडौँ । बङ्गालको खाडीको पूर्वी भू–भाग अर्थात् उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली क्रमशः बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना देखिएको छ। यही प्रणालीका कारण नेपालमा भीषण वर्षा हुनसक्ने चर्चा भइरहेका बेला मौसमविद्हरूले भने अहिले नै वर्षाको जोखिम तथा सम्भावित क्षतिको यकिन आकलन गर्ने समय भइनसकेको बताएका छन्।
मौसम तथ्याङ्क, मौसम मोडेल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणअनुसार उक्त प्रणाली असोज ७ गते अर्थात् सेप्टेम्बर २३ आसपास थप विकसित भई न्यून चापीय प्रणालीका रूपमा दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ। यस प्रणालीको प्रभाव नेपालसम्म पर्न सक्ने र केही क्षेत्रमा वर्षा हुनसक्ने सम्भावना रहे पनि अहिले नै देशभर भीषण वर्षा हुने वा ठूलो क्षति हुने निष्कर्षमा पुग्न नसकिने मौसमविद्हरूको भनाइ छ।
नेपाल मौसम विज्ञान विभागले उक्त प्रणालीको विकासक्रमलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्रणालीको अवस्था, मार्ग र नेपालमा पर्न सक्ने प्रभावबारे थप स्पष्ट भएपछि आवश्यकताअनुसार सूचना तथा मौसम पूर्वानुमान सार्वजनिक गरिने विभागले जनाएको छ। विभागका अनुसार हालको अवस्थामा नेपालमा वर्षाको जोखिमको स्तर, कुन क्षेत्रमा कति प्रभाव पर्न सक्छ भन्ने विषय तथा सम्भावित क्षतिको यकिन आकलन गर्न अझै समय आवश्यक छ।
त्यसैले सामाजिक सञ्जाल तथा अन्य माध्यममा फैलिएका भीषण वर्षासम्बन्धी अपुष्ट सूचनाभन्दा विभागबाट जारी हुने आधिकारिक सूचना र पछिल्लो मौसम पूर्वानुमानलाई आधार मान्न विभागले सर्वसाधारणलाई आग्रह गरेको छ। मौसमसम्बन्धी पछिल्लो तथा आधिकारिक जानकारीका लागि विभागको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालका माध्यमहरू नियमित रूपमा हेर्नसमेत विभागले अनुरोध गरेको छ।