Butwal Today

हिमबाढीले धकेल्यो सिद्धबाबा सुरुङ सञ्चालनको समय

४ आश्विन २०८३, आइतबार
अ+
अ-

बुटवल ।  सिद्धार्थ राजमार्गको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ मार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सुरुङ निर्माणका लागि ल्याइएका विद्युतीय तथा अन्य सामग्रीमा क्षति पुगेपछि निर्माण कार्य प्रभावित भएको हो ।

बाढीका कारण सामग्री ढुवानीमा समेत समस्या भएपछि आगामी कात्तिकभित्रै सुरुङ सञ्चालनमा ल्याउने आयोजनाको यसअघिको लक्ष्य प्रभावित भएको आयोजनाको कार्यालय बुटवलले जनाएको छ । आयोजनाका प्रमुख नवराज बास्तोलाका अनुसार बाढीका कारण आवश्यक विद्युतीय सामग्री समयमा उपलब्ध हुन नसकेपछि सुरुङभित्रको अन्तिम चरणको काम प्रभावित भएको हो ।

“सुरुङभित्रको अधिकांश निर्माण कार्य पूरा भइसकेको छ । फिनिसिङ र विद्युतीय उपकरण जडानको काम गर्नुपर्ने समयमा बाढीले सामग्रीमा क्षति पु¥यायो,” उनले भने, “केही सामग्री बाढीले बगाएको र केही सामग्री वैकल्पिक मार्गबाट ल्याउनुपर्दा काममा ढिलाइ भएको हो ।”

बाढीले रसुवा नाकाभित्र आइसकेका आयोजनाका केही सामग्रीसमेत बगाएको थियो । त्यसपछि कतिपय सामग्री अन्य मार्गबाट ल्याउनुपरेको आयोजनाले जनाएको छ । यसले सुरुङमा विद्युतीकरण, सुरक्षा प्रणाली र अन्य प्राविधिक उपकरण जडानको काम प्रभावित भएको हो ।

१ हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको करिब ७० प्रतिशत काम पूरा भएको मानिनेछ । सुरुङ सञ्चालनयोग्य भएपछि बाहिरी संरचनातर्फको कामलाई तीव्रता दिने आयोजनाको तयारी छ । बाहिरी भागमा रकसेड, स्कानेट, नाली तथा पर्खाल निर्माण र सडक कालोपत्रेलगायतका काम बाँकी छन् ।

सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि २०७८ फागुनमा पाँच वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको जिम्मा पाएको हो । सुरुङ मार्गको ‘ब्रेक थ्रु’ २०८१ माघ ११ गते भएको थियो । त्यसबेला आयोजनाको करिब ४० प्रतिशत काम सम्पन्न भएको थियो ।

हाल मुख्य सुरुङको संरचनागत निर्माणको काम पूरा भइसकेको र विद्युतीकरण तथा प्रवेशद्वारतर्फको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । मनसुनका कारण यसअघि नै प्रभावित भएको निर्माण कार्यमा भोटेकोशी बाढीले थप असर पारेपछि निर्धारित समयभन्दा केही ढिला हुने अवस्था आएको हो ।

सुरुङ सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रको जोखिमयुक्त सडकमा निर्भरता घट्नेछ । सुरुङ निर्माणपछि पनि सुरुङबाहिरको करिब ७८० मिटर सडकलाई सुरक्षित बनाउन दोहोरो लेन, बाइपास तथा करिब साढे तीन किलोमिटर सडक सुधारका काम गर्नुपर्ने आयोजनाको योजना छ ।

सिद्धबाबा क्षेत्रमा माथिबाट ढुङ्गा खस्ने तथा पहिरो जाने जोखिमका कारण वर्षौँदेखि यात्रु र चालक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सुरुङ मार्ग सञ्चालनमा आएपछि उक्त जोखिम कम हुने तानसेनका यातायात व्यवसायी विकास भट्टराईले बताए ।

“सिद्धबाबा क्षेत्रमा यात्रा गर्दा ढुङ्गा खस्ने र पहिरोको जोखिम सधैँ रहन्छ,” उनले भने, “सुरुङ सञ्चालनमा आएपछि यात्रुको सुरक्षा बढ्नुका साथै वर्षायाममा हुने सडक अवरोध पनि कम हुनेछ ।”

सुरुङ मार्ग निर्माणका लागि भ्याटसहित सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपियाँ लागत अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा हुने दुर्घटना तथा सडक अवरोधको जोखिम घट्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?