© 2026
बुटवल । ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले ज्ञानप्रसाद खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
भव्य समारोहबिच प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै सांसद भुसालले ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले सामाजिक एकता, आपसी सहकार्य र रचनात्मक गतिविधिमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताए ।
उनले समाजले ढाकावाङ्गवासीलाई रुपन्देहीमा सङ्गठित गर्दै जन्मभूमिको विकास, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोड्ने महत्त्वपूर्ण काम गरिरहेको उल्लेख गरे । ढाकावाङ्गको पहिचान र गौरवलाई रुपन्देहीमा स्थापित गर्दै समाजले समग्र अर्घाखाँची जिल्लाकै शिर उच्च बनाउने काम गरेको उनको भनाइ थियो ।
सांसद भुसालले सामाजिक संस्थाहरू केवल भेटघाट र कार्यक्रम गर्ने माध्यम मात्र नभई समुदायको आवश्यकता पहिचान गरी सहयोग, सहकार्य र सामाजिक रूपान्तरणमा भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नयाँ नेतृत्वले संस्थालाई अझ गतिशील र प्रभावकारी बनाउँदै सबैलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासेले विभिन्न क्षेत्र र समुदायबिचको सम्बन्धलाई बलियो बनाउन सम्पर्क समाजहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
धारापानीका अध्यक्ष रामप्रसाद भुसाल, असुरकोटका सचिव गीता बन्जाडे, धनचौरका प्रतिनिधि दिलीप पौडेललगायतले शुभकामना मन्तव्य राख्दै समाजको संस्थागत विकास र सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी काम गर्न सुझाव दिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद खनालले आफ्नो कार्यकालमा संस्थाले गरेका गतिविधि तथा आगामी योजनाका विषयमा धारणा राखेका थिए । सचिव नारायणप्रसाद भुसाल ‘बाबु’को सञ्चालन तथा उपाध्यक्ष युवराज खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
अधिवेशनबाट ज्ञानप्रसाद खनाल अध्यक्ष, नारायणप्रसाद भुसाल ‘बाबु’ र टेकराज भुसाल उपाध्यक्ष, शिवलाल खनाल सचिव, मेघराज खनाल सहसचिव, लेखनाथ खनाल कोषाध्यक्ष तथा शान्ता खनाल सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा रामबहादुर अधिकारी, दुर्गा आचार्य (खनाल), प्रेम खनाल, हिमाल खनाल, पुष्पा भुसाल, गौरव खनाल र योगेश खनाल निर्वाचित भएका छन् । एक सदस्य पद भने रिक्त रहेको छ ।
यसैगरी लेखा समितिको संयोजकमा गोविन्दप्रसाद भुसाल तथा सदस्यहरूमा ढुण्डिराज खनाल र फुलमाया बन्जाडे निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष ज्ञानप्रसाद खनालले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण आजीवन तथा साधारण सदस्यप्रति आभार व्यक्त गर्दै संस्थालाई अझ व्यवस्थित, पारदर्शी, गतिशील र सबैको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ नेतृत्व चयनसँगै ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले सामाजिक एकता, सहकार्य र सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।