दोहा, कतार । कतारमा विगत लामो समयदेखि सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशील रहेको सामाजिक संस्था धनकुटा सेवा समाज कतारले तिल विक्रम मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै नवौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ ।
शुक्रबार प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा नवौँ अधिवेशनले धनकुटा जिल्ला चौबिसे गाउँपालिका, वडा न ८ निवासी मगरको नेतृत्वमा १५ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षद्वय रविन मगर र योगेन्द्र बराल रहेका छन् । महासचिवमा खेमराज खड्का सचिवमा सन्तोष बस्नेत,कोषाध्यक्षमा किशोर बस्नेत, सहकोषाध्यक्षमा सन्दीप दर्लामी सचिवालय सदस्यमा सदस्यद्वय सुमन कोइराला र लक्ष्मी क्षेत्री निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा गङ्गा तामाङ,सन्तोष लाकान्दी सञ्जीव खाती, सोविका मगर, शान्ति लिम्बु, जुना मगर रहेका छन् । समाजका सल्लाहकार डियन मगरले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
शुक्रबार कतारको प्लाजा मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष तिल विक्रम मगरको सभाअध्यक्षता तथा कोसी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र घिमिरेको सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको अवसरमा कतारमा श्रमिक सहयोग तथा बीमा कोषको आयोजनामा सम्पन्न महिला च्याम्पियनसिप कप–२०२६ को उपाधि विजेता नेपाली महिला भलिबल टोलीसहित कलाकार, पत्रकार, लगायत विभिन्न सामाजिक संस्थाहरुलाई सम्मान गरिएको थियो।
समाजलाई सही मार्गमा डोर्याउँदै सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको योगदानको कदरस्वरूप पदम कुमार घिमिरे, डिएन मगर र रबिन मगरलाई उत्कृष्ट सम्मान स्वरुप दोसल्ला ओढाई मायाको चिनोसहित सम्मान गरिएको थियो।
कार्यक्रममा दुई दर्जनभन्दा बढी वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्दै धनकुटा सेवा समाज कतारले कतार तथा गृह जिल्लामा गर्दै आएको सामाजिक कार्यको प्रशंसा गरेका थिए। अधिवेशनमा थुप्रै कलाकारहरूले ‘पूर्वै रमाइलो’ लगायतका गीतमार्फत पूर्वेली संस्कृति, धनकुटाको मौलिकता र रमणीय सेरोफेरो झल्काउँदै साङ्गीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमको विशिष्ट आतिथ्यताका रूपमा रहेका कोसी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्माले परिषद् मातहत रहेका जिल्ला संस्थामध्येकै उत्कृष्ट सामाजिक कार्यसम्पादन गर्ने धनकुटा सेवा समाज रहेको बताउँदै खुलेर प्रशंसा गरे। शर्माले धनकुटाको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सुन्दरता अवलोकन गर्न एक पटक सबैलाई जिल्ला पुग्न आग्रह गरे।
समाजले संस्थाको कोष वृद्धिका लागी सञ्चालन गरेको “भाग्यशाली चिठ्ठाको नतिजा समेत अधिवेशनमा सार्वजनिक गरेको थियो। भाग्यशाली चिठ्ठाको सार्वजनिक नतिजा अनुसार प्रथम पुरस्कारस्वरूप रहेको एक थान ल्यापटप चिट्ठा नम्बर ००७९० सिदार्थ गौतमले प्राप्त गरेका छन् त्यसैगरी द्वितीय पुरस्कार स्मार्टफोन (चिट्ठा न ००७०५) ईब्रहिम खानले जितेका छन् भने तृतीय पुरस्कार ५२ इन्च टेलिभिजन (चिट्ठा नः ०१०००) धन बहादुर बिकले हात पारेका छन् । यस्तै, सान्त्वना पुरस्कारअन्तर्गत प्रदान गरिएका पाँच वटा स्मार्ट वाच क्रमशः गुल्मी सेवा समाज कतार चिठ्ठा नः ००००५) बिमल परियार (चिठ्ठा नस्००१८१) सोमता राई चिठ्ठा नः (००८०२) रामहरी श्रेष्ठ (चिठ्ठा नः ०००१३) स्वर्णिम थापा (चिठ्ठा नः ००७९४) ले प्राप्त गरेका छन् ।
सभाअध्यक्ष तिल विक्रम मगरले सभालाई सम्बोधन गर्दै दुई वर्षे कार्यकाल सफल बनाउन सहयोग गर्ने कार्यसमिति र अग्रजप्रति आभार व्यक्त गर्दै अब बन्ने नयाँ नेतृत्वले संस्थाको गरिमा कायम राख्दै समाजसेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। संस्थाको दुई बर्से कार्यकालको प्रगति प्रतिवेदन महासचिव योगेन्द्र बरालले सभामा पेस गरेका थिए भने स्वागत मन्तव्य रबिन मगरको रहेको थियो।