© 2026
बुटवल ।
जिल्ला भलिबल संघ रूपन्देहीको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
बुटवलमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर भण्डारी, उपाध्यक्षमा महेश खनाल, सचिवमा मिलन राना र कोषाध्यक्षमा इन्दिरा राना निर्वाचित भएका छन् । सदस्यहरूमा अर्जुन घिमिरे, किरण पोखरेल, किसनबहादुर चन्द, थम्मन खत्री, प्रताप खवास र लालप्रकाश थापा निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुमन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा भलिबल संघका केन्द्रीय सचिव झकबहादुर मिदुनले नेपालमा हुने भलिबल प्रतियोगितामा केन्द्रले सक्दो सहयोग गर्दै आएको बताए । सरकारले पर्याप्त सहयोग नगरे पनि देशको पहिचानका लागि भलिबल संघले आफ्नै स्रोतबाट समेत खेलाडीलाई विदेश पठाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको उनको भनाइ थियो ।
रूपन्देही जिल्ला भलिबल संघले विभिन्न समस्या र चुनौतीका बीच पनि खेलको विकास, प्रतियोगिता आयोजना तथा खेलाडी उत्पादनमा निरन्तर काम गर्दै आएको मिदुनले बताए ।
जिल्ला भलिबल संघ रूपन्देहीका पूर्वअध्यक्ष विष्णुकुमार श्रेष्ठले भलिबल राष्ट्रिय खेल भएकाले यसको विकाससँगै खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताए । आफ्नो कार्यकालमा रूपन्देहीमा नगर, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न भलिबल प्रतियोगिता आयोजना गरी जिल्लालाई भलिबलको पहिचान दिलाउन सफल भएको उनले बताए । सरकार र निजी क्षेत्रको सहकार्यमा खेलकुद गतिविधि हुँदै आए पनि खेलको विकासका लागि सरकार स्वयं अझ सक्रिय हुनुपर्ने श्रेष्ठको भनाइ थियो ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले भलिबलसँगै अन्य खेलकुदका गतिविधिमा पनि उपमहानगरपालिकाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताए । आगामी दिनमा पनि प्रतियोगिता सफल बनाउन आवश्यक सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।
जिल्ला भलिबल संघ रूपन्देहीका अध्यक्ष सुरेन्द्रकुमार शाक्यले आफ्नो नेतृत्वको कार्यसमितिले जिल्लामा भलिबलको विकासका लागि विभिन्न विधाका प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । प्रतिकूल परिस्थितिका बीच पनि विद्यालय तथा नगरस्तरीय प्रतियोगिता आयोजना गरी खेलाडी उत्पादनमा जोड दिइएको उनले बताए ।
रूपन्देहीले प्रदेशस्तरमा हुने विभिन्न महिला तथा पुरुष भलिबल प्रतियोगितामा जिल्लाको नेतृत्व गर्दै बलियो उपस्थिति जनाउँदै आएको उल्लेख गर्दै शाक्यले आगामी दिनमा थप काम गर्ने योजनासहित अघि बढ्ने बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति रूपन्देहीका प्रमुख चन्द्रकान्त आचार्य, जिल्ला भलिबल संघका उपाध्यक्ष रामबहादुर थापालगायतले आफ्नो भनाइ राखेका थिए ।
सो अवसरमा पाकिस्तानमा सम्पन्न काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाली टोलीबाट सहभागी खेलाडी दिपेश कुँवर तथा जापानमा सम्पन्न २०औँ एसियन खेलकुदमा सहभागी मिना सुनारलाई नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।