Butwal Today

८० लाख रुपैयाँभन्दा बढीका मोबाइल सामग्री बरामद

३ आश्विन २०८३, शनिबार
अ+
अ-

सुनवल ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीले ८० लाख ३० हजार रुपियाँ बराबरका मोबाइलमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ । बर्दघाट नगरपालिका–४ स्थित एसमोडको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा शुक्रबार राति ती सामग्री बरामद गरिएको गणका सूचना अधिकारी डिएसपी मनोज गुरुङले जानकारी दिए।

बरामद सामग्रीमा मोबाइल ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच र स्पिकरलगायत रहेका छन् । बरामद सामग्री आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । पश्चिम नवलपरासीमा पछिल्लो समय मोबाइलका पार्टपुर्जा तथा अन्य सामग्रीको तस्करी बढेको देखिएको छ । केही दिनअघि पनि करिब एक करोड रुपियाँ बराबरका मोबाइलमा प्रयोग हुने सामग्री बरामद गरिएको थियो ।

लगातार ठूलो परिमाणमा मोबाइल सामग्री बरामद हुन थालेपछि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्र तथा शङ्कास्पद स्थानमा निगरानी बढाएको जनाएको छ । यद्यपि, बरामद भएका सामग्री कसले र कहाँबाट ल्याएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको भए पनि हालसम्म तस्करीमा संलग्न व्यक्तिसम्म प्रहरी पुग्न सकेको छैन । पछिल्ला घटनामा ठूलो परिमाणमा सामग्री बरामद भए पनि त्यसको ओसारपसारमा संलग्न व्यक्तिसम्म प्रहरी पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?