© 2026
दोहा, कतार । नेपालमा भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग,कतारले प्रधानमन्त्री राहत कोषमा १७ लाख ११ हजार,७५४ रुपैयाँ पठाएको छ ।
प्रवास सम्पर्क विभागको मातहतमा रहेका विभिन्न शाखा,समिति तथा केन्द्रीय समितिहरूद्वारा सहयोग सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको प्रवास नेपाली बिभागका कार्यवाहक सभापति नियम भुजेलले जानकारी दिएका छन् ।
सभापति भुजेलका अनुसार सनैया शाखाबाट ९ लाख ८२ हजार २२७ रुपैयाँ,अलखोर शाखाबाट २ लाख ५३ हजार ५६४ रुपैयाँ,केन्द्रीय समितिबाट ३ लाख १९ हजार ३ सय रुपैयाँ,दोहा शाखाबाट ९० हजार ८४९ रुपैयाँ,एनआरएनए एनसिसी मार्फत ५१ हजार १११ रुपैयाँ,अल वक्रा शाखाबाट ९ हजार र अल रियान शाखाबाट ६ हजार रुपैयाँ सकंलित रकम पठाइएको जानकारी दिएका छन् ।
प्रवास नेपाली सम्पर्क विभाग, कतारले सहयोग अभियानमा साथ दिने सम्पूर्ण शाखा समिति, केन्द्रीय समिति, सहयोगी मन, शुभेच्छुक तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ । विभागले विपद्को कठिन घडीमा कतारमा रहेका नेपालीबिच देखिएको एकता, सहकार्य र मानवीय भावनाले प्रभावित परिवारलाई राहत र आशाको अनुभूति दिलाउन महत्त्वपूर्ण योगदान पुगेको जनाएको छ।
कतारमा रहेका नेपाली समुदायबाट सङ्कलित सहयोग विभिन्न माध्यममार्फत प्रभावितसम्म पुर्याउने तथा सरकारी राहत कोषमा जम्मा गर्ने क्रम जारी छ।
भोटेकोशी बाढीपछि नेपालमा ठुलो जनधनको क्षति भएपछि कतारमा रहेका नेपाली सङ्घसंस्था, सामाजिक अभियन्ता तथा व्यक्तिगत रूपमा कतारमा रहेका नेपाली श्रमिकहरूले समेत राहत अभियानमा सक्रियता देखाउँदै आएका छन्।