Butwal Today

सी–ट्रम्प भेटमा एआई मुख्य मुद्दा

१ आश्विन २०८३, बिहीबार
अ+
अ-

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दा कृत्रिम बौद्धिकता (एआई) दुई देशबिचको प्रमुख चासोका रूपमा रहने भएको छ ।

एआई विकास, अत्याधुनिक चिप्समा पहुँच र सुरक्षा मापदण्डमा अमेरिका र चीनबिच प्रतिस्पर्धा तथा मतभेद तीव्र छन् ।

अमेरिका र चीन एआई विकासका प्रमुख शक्ति हुन् । डिपसिक र मुनसट एआईलगायत चिनियाँ कम्पनीका खुला मोडेलले अमेरिकी ओपनएआई र एन्थ्रोपिकका प्रणालीसँग प्रतिस्पर्धा गर्न थालेका छन् । चीनको एआई विकास रोक्न अमेरिकाले अत्याधुनिक चिप्सको निर्यातमा नियन्त्रण गर्दै आए पनि ट्रम्प प्रशासनले केही चिप्समा नियम खुकुलो पारेको छ भने अन्य प्रविधिमा प्रतिबन्ध कायम राखेको छ ।

एआईको तीव्र विकाससँगै सुरक्षा र नियमनबारे चिन्ता पनि बढेको छ । अमेरिकामा चीनसँगको प्रतिस्पर्धाका कारण एआई विकास सुस्त पार्न नहुने धारणा बलियो छ भने चीनले पनि एआईलाई प्रमुख भू–राजनीतिक प्रतिस्पर्धाको क्षेत्रका रूपमा हेरेको छ ।

आगामी भेटमा एआईसम्बन्धी सीमित सहकार्यको सम्भावना रहे पनि विकासको गति घटाउने वा विश्वव्यापी सुरक्षा मापदण्ड बनाउने विषयमा सहमति जुटाउन कठिन हुने विश्लेषकहरूको धारणा छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआईमा अमेरिका र चीन विश्वका पहिलो र दोस्रो प्रमुख शक्ति भएकाले जोखिम नियन्त्रणका उपाय तय गर्न तथा दुवै पक्षबिच नजिकको सम्पर्क आवश्यक रहेको बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?