© 2026
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षले गर्न लागेका दुवै महाधिवेशन रोक्नुपर्ने बताएका छन् ।
पार्टीको आन्तरिक समस्या र आसन्न दुई महाधिवेशनका सन्दर्भमा बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुवै महाधिवेशनले देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने बताएका हुन् ।
‘मेरो पीडा काँग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ कोइरालाले भनेका छन्, ‘यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ ।’
आफूले विगतमा पनि यस्तै प्रयत्न गरेको उल्लेख गर्दै उनले अहिले पनि समझदारी कायम गर्ने प्रयासमा लाग्ने बताएका छन् । उनले मध्यमार्गी बाटो कठिन भए पनि सत्यको बाटो यही भएको जिकिर गरेका छन् ।
‘मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो । मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो,’ कोइरालाले भनेका छन्, ‘यही मार्ग काँग्रेसको मार्ग हो र यही मार्ग काँग्रेसको जीवनदर्शन हो ।’ आफूमाथि आरोप लागिरहेको भए पनि काँग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने सिपाही आफू रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।